काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो ।
फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा उत्तमले गोल गरेका थिए ।
फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गरेका हुन् ।
यस अघि बल पोजिसनमा पकड जमाएको च्यासलले फ्रेन्ड्सविरुद्ध गोल गर्न सकेनन् । उसका प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बु बाधक बनेका थिए । यस्तै च्यासल र फ्रेन्ड्सले पहिलो हाफमा पनि गोलको केहि अवसर गुमाएको थियो ।
खेलमा फ्रेन्ड्सका उत्तम म्यान अफ दि म्याच चुनिए ।
जितसँगै फ्रेन्ड्स लिगको नवौं स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको फ्रेन्ड्सले ९ खेलमा ११ अंक जोडेको छ ।
च्यासल ९ खेलबाट ९ अंक सहित लिगको दशौँ स्थानमा झरेको छ ।
फ्रेन्ड्स प्लेईङ सेट -
फिलिपे डी सौजा,सुरज गुरुङ,विश्व अधिकारी,देव लिम्बु,प्रिजेन तामाङ,उत्तम राई,सरोज योन्जन लामा,वाग्नेर डी कार्मो,अशिम भुसाल,अनिश श्रेष्ठ, अनिल राई
च्यासल प्लेईङ सेट -
एलेन न्यौपाने,हेमन्त थापा,सन्तोष साहुखल,अविशेक लिम्बु,हायातो वाकिनो,अमिर श्रेष्ठ ,ताइगा नाकामुरा,नरेन्द्र चौधरी,सुनिल खड्का,बिक्रम लिम्बु,मुहमद आसिफ