काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग खेल्न नेपाल आएका राष्ट्रिय टोलीका पूर्व सदस्य जगजित श्रेष्ठ अष्ट्रेलिया फर्किएका छन् ।
यस सिजनका लागि साविक विजेता मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्ध भएका मिडफिल्डर जगजित लिग नसकिदै अष्ट्रेलिया फर्किएका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको प्रतिबन्धमा परेपछि जगजित क्लबसँगको सहमतिमा अष्ट्रेलिया फर्किएका हुन् । जगजित पछिल्लो समय अष्ट्रेलियामा रहदै आएका छन् ।
'घरासयी काम र एन्फाको कारबाहीको कारणले जगजित क्लबको सहमतिमा अष्ट्रेलिया फर्किएका छन्,' मनाङका एक पदाधिकारीले भने, 'क्लबले चाहेको अवस्थामा उनी फर्किने छन् ।'
लिगको पाँचौं चरण अन्तर्गत मनाङ र मछिन्द्र फुटबल क्लबबीचको खेलमा झगडामा उत्रिएपछि एन्फाले जगजितसहित मनाङका ३ र मछिन्द्र ३ गरि ६ खेलाडी र एक अफिसियललाई प्रतिबन्ध लगाएको थियो । यस्तै समान १०/१० हजार जरिवाना समेत गरेको थियो ।
जगजितले भने ५ खेलको प्रतिबन्ध पाएका थिए । एन्फाको कारबाहीपछि जगजितले लिगका अन्तिम ३ खेल भने खेल्न पाउने छन् । यस सिजन उनले एक गोल गरेका थिए ।
लिगमा मनाङ यस सिजन अपराजित रहेका छन् । तेस्रो स्थानको मनाङले ८ खेलमा १६ अंक जोडको छ ।