काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अभिषेक रिजालले माल्दिभ्सको 'बी' डिभिजन लिग खेल्ने भएका छन् ।
मछिन्द्र फुटबल क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग खेलिरहेका अभिषेक लिग छाडेर माल्दिभ्सको लिग खेल्न माले पुगिसकेका छन् ।
क्लबले रिलिज (फुकुवा) गरेपछि स्ट्राइकर अभिषेक त्यसतर्फ गएका हुन् ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले क्लबले फुकुवा गरेको कारण अभिषेक माल्दिभ्स गएको बताए ।
'क्लबले अभिषेकलाई रिलिज गरेको छ । उनिसँगको लामो छलफल पछिनै हामीले उसलाई रिलिज गरेको हो,' प्रशिक्षक प्रवेश कटुवालले भने ।
लिग अन्तर्गत सोमबार थ्री स्टार क्लबविरुद्ध पनि अभिषेक टिममा थिएनन् । दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले थ्री स्टारलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

अभिषेकले टिम छाडेपछि पहिलो पटक लिगको उपाधि जित्ने लक्ष्य बोकेको मछिन्द्रलाई घाटा भएको पनि प्रशिक्षक कटवालले बताए ।
'अभिषेक राम्रो खेलाडी हो । लिग जित्ने लक्ष्यसहित उसलाई हामीले टिममा भित्राएका हौं । उसको अभाब पक्कै पनि टिममा देखिने छ,' कटुवालले भने ।
अभिषेकले माल्दिभ्समा जेजे स्पोर्ट्सबाट खेल्ने बताईएको छ । उक्त क्लबबाट अहिले नेपाली यू–२३ टिमको गोलरक्षक अर्पण कार्कीले खेलिरहेका छन् ।
यस सिजनको लिगमा भने अभिषेकले गोल गर्न सकेका थिएनन् । उनले क्लबबाट यस सिजन आठ खेल खेलेका थिए ।
एन्फा एकेडेमीका अभिषेकले पहिलो पटक नेपाल पुलिस क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए । गत सिजन पुलिसबाट उनले ४ गोल गरेका थिए ।
पुलिसबाट लोनमा मनाङ मर्स्याङ्दी पुगेका अभिषेकले एएफसी कप अन्तर्गत चेन्नईन एफसीलाई एक गोल गरेका थिए । एएफसी कपमा नेपाली खेलाडीले गरेको त्यो नै एकमात्रै गोल हो ।
मलेसियासँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका अभिषेकले चाईनिज ताईपेसँग भएको मैत्रीपूर्ण खेलमा एक गोल गरेका थिए ।
हालै नेपालमा आयोजना भएको १३ औं सागमा नेपाललाई स्वर्ण दिलाउने क्रममा उनले ३ गोल गरेका थिए ।