काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले साँघुरो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार पुलिसले एपीएफ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
विभागीय डर्बी भिडन्तमा पुलिसलाई जित दिलाउन कप्तान भोला नाथ सिलवालले निर्णायक गोल गरे ।
खेलको १३ औं मिनेटमा भोलाले पेनाल्टीमा गोल गर्दै पुलिसलाई तीन अंक दिलाएका हुन् ।
रबि पासवानको कर्नरमा भरत साहलाई एपीएफका खेलाडीले डिबक्स भित्र फउल गर्दा पुलिसले पेनाल्टी पाएको थियो । जसमा भोलाले सहजै गोल गरे ।

यस्तै खेल सकिएपछि एपीएफका सुदिप शिख्राकारले रातो कार्ड पाएका थिए । रेफ्री प्रकाश नाथ श्रेष्ठलाई अभद्र व्यवहार गरेपछि उनले रातो कार्ड पाएका हुन् ।
खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच चुनिए ।
एपीएफलाई पराजित गरेसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले ९ खेलमा १४ अंक जोडेको छ ।
पराजित एपीएफ ९ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । यस हारसँगै एपीएफलाई रेलिगेसनको दबाब समेत बढेको छ ।
के भन्छन् प्रशिक्षक ?
पुलिसका प्रशिक्षक अनन्त राज थापाले जित्नै पर्ने खेलमा अंक आएको खुसी भएको प्रतिक्रिया दिए ।
'सुरुवातबाटै राम्रो खेल भयो । केहि पाएको मौकामा सफल भएन । राम्रो स्थानका लागि जित्नै पर्ने थियो । महत्वपूर्ण तीन अंक आयो,' थापाले भने, ' पहिलो हाफमा गोल भएपछी दोस्रो हाफमा बचाउन लाग्यौ । त्यसैले दबाबमा आयो । तर, अट्याकमा दबाब दियौ । केही हदमा सफल पनि भएको थियो ।'
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले टिमले उत्कृष्ट खेलेको बताए ।
'आज लिग भरिकै राम्रो खेल्यौ । दबाब दिन सक्यौ । पेनाल्टीपछि खेल राम्रो भयो । तर, रेफ्रीहरुले बराबर खेलाउनु पर्छ । हाम्रो आशिषलाई लडाउदा गोल दिएन,' उनले भने ।
यस्तै तामाङले पुछारको टिम सरस्वतीको खेललाई मध्येनजर गर्दै तिम्ले रणनीति तयार गर्ने समेत बताए।
'अब सरस्वतिलाई हेरेर खेल्छौं । उसले जिते दबाब हुन्छ । एउटा खेल जित्न सके । राम्रो हुन्छ । मछिद्रसँग राम्रो खेल्छौ । ठुला टिमसँग राम्रो खेल्छौ,' उनले थपे ।
पुलिस प्लेईङ सेट -
अजित भण्डारी,सन्तोष हेमरुन,निर कुमार राई, रोशन खड्का,अन्जन राई,भोला नाथ सिलवाल,प्रवेश कुँवर,सौजन राई,हेम तामाङ,रबि कुमार पासवान,भरत साह
एपीएफको प्लेईङ सेट -
अमृत चौधरी, सुदिप शिख्राकार,नबिन लामा,रमेश दंगाल,आशिष लामा,राजन लामा,बुद्धिमान राई, टोप बहादुर बिष्ट,राजिब लोप्चन, प्रदिप लामा, हरि कार्की