काठमाडौं । स्टार खेलाडी बोकेर उपाधि होडमा हिडेको मछिन्द्र र ललितपुरको थ्रीस्टार क्लब लिगको नवौं चरणको खेलमा आज (सोमबार) भिड्दैछन् ।
लिगको ५८ औं खेलमा थ्रीस्टार र असनको मछिन्द्र क्लब एक आपसमा भिड्न लागेका हुन् ।
दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । सोमबारको खेलले लिगको उपाधि होडको बिषयमा धेरै कुरा बोल्ने अनुमान गरिएको छ ।
थ्री स्टारलाई पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा फर्कन चाहन्छ । यता, थ्री स्टार पनि मछिन्द्रलाई पराजित गर्दै पहिलो पटक शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
मछिन्द्रलाई पराजित गरे थ्री स्टार हेड टुु हेडका आधारमा शीर्ष स्थानमा पुग्नेछ ।
थ्री स्टार पहिलो पटक लिगको शीर्ष स्थानमा पुग्न प्रयास गर्नेछ ।
थ्री स्टारका तीन खेलाडी चालू सिजन मछिन्द्रमा छन् ।
‘मछिन्द्र अहिले उपाधि होडमा बलियो छ । तर हाम्रो टिमपनि लयमा छ । दुबै टोलीको लागि महत्वपुर्ण रहेको छ । दुबै क्लबले उपाधि होडमा आफुलाई कायम राख्न खेल्नेछौं ।’ थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन् ।
सोमबार थ्री स्टारका पुर्व खेलाडी बुद्ध राज लिम्बु, बिजय धिमाल र रन्जित धिमाल मछिन्द्रबाट खेल्दैछन् । गत सिजन रन्जित धिमालले थ्री स्टारबाट सर्बाधिक ७ गोल गरेका थिए ।
मछिन्द्रपनि बलियो थ्री स्टारलाई पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्नल चाहन्छ । पछिल्लो खेलमा त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएपछि मछिन्द्रलाई शीर्ष स्थानमा पकड बनाउने अवसर आएको हो ।
‘थ्रीस्टार बलियो टिम हो । हाम्रोमा स्टार खेलाडी छन् । दुबैलाई उत्तिकै खेल महत्वपुर्ण छ । थ्री स्टारलाई पराजित गर्दै उपाधि तर्फ लाग्छौ ।’ मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल भन्छन् ।
सोमबार थ्री स्टारविरुद्ध मछिन्द्रका अभिषेक रिजाल र हेमन गुरुङ उपलब्ध हुनेछैनन् । हेमन अष्टे«लिया पुगेका छन् भने अभिषेक आईतबार मात्रै माल्दिभ्स पुुगेका छन् ।
थ्री स्टारविरुद्धको खेल अगाडी कप्तान विराज महर्जन र उपकप्तान सुजल श्रेष्ठ सामान्य घाईते छन् ।
थ्री स्टारले आफ्ना ४ विदेशी खेलाडी मछिन्द्रबिरुद्ध प्रयोग गर्न सक्नेछ ।
साउथ एसियन कोटाका खेलाडी टिममा नराखेको मछिन्द्रले तीन विदेशी खेलाडी मात्र मैदान उतार्नेछ ।