एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा पीएसजीले लिलीलाई २-० गोल अन्तरले हराएको हो । पीएसजीको जितमा नेयमार नायक बने ।
खेलको २८ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ५२ औं मिनेटमा नेयमारले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई २-० को सहज जित दिलाए ।
यस्तै लिलीविरुद्ध गरेको गोल नेयमारले हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबलका लिजेण्ड कोबी ब्रायन्टलाई समर्पित गरे ।
बास्केटबलका समर्थक नेयमारले पाँच पटकको एनबिए च्याम्पियन कोबीलाई सन् २०१७ मा भेट गरेका थिए ।
जितसँगै पीएसजीले लिगमा १० अंकको अग्रता बनाएको छ । पीएसजीले २१ खेलमा ५२ अंक जोडेको छ । लिली ३१ अंक जोडेर सातौं स्थानमा रहेको छ ।