एजेन्सी । लिभरपुल एफए कप फुटबलको चौंथो चरणमा बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल लिग वान क्लब श्रीउजबरी टाउनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रिएको लिभरपुलले दुई गोलको अग्रता जोगाउन सकेन । खेलको १५ औं मिनेटमा कुर्टिस जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
खेलको ४६ औं मिनेटमा टाउनका डोनाल्ड लभले आत्मघाती गोल गर्दै लिभरपुल २-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा टाउनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६५ औं मिनेटमा जासन कुमिङ्सले पेनाल्टीमा गोल गर्दै टाउनलाई खेलमा फर्काए । त्यसपछि ७५ औं मिनेटमा कुमिङ्सले व्यक्तिगत दोस्रो गोल गर्दै टाउनलाई हारबाट जोगाए ।
दोस्रो हाफमा मोहमद सलाह र रोबर्टो फिर्मिन्होलाई मैदान पठाएपनि लिभरपुलले जित निकाल्न सकेन ।
यस बराबरीसँगै लिभरपुलले टाउनसँग पुनः खेल्नु पर्ने भएको छ । रिप्ले खेल लिभरपुलको मैदानमा हुनेछ ।