एजेन्सी । ईटालियन सिरि ए फुटबलमा युभेन्ट्स पराजित बनेको छ । आईतबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल अन्तर पराजित बनेको हो ।
युभेन्ट्सका प्रशिक्षक माउरिजियो सर्री पुरानो क्लब नापोली फर्किएका थिए । तर उनले हार ब्यहोरे । क्रिस्टियानो रोनाल्डोले आठौं खेलमा लगातार गोल गरेको खेलमा युभेन्ट्स पराजित हुन पुग्यो ।
उनले खेलको ९० औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर समय निकै घर्किसकेको थियो ।
युभेन्ट्सले दोस्रो स्थानको ईन्टर मिलानसंग तीन अंकको अग्रता लिएको छ । हारको बाबजुत क्लब सिरि ए को शीर्ष स्थानमा यथावत छ । युभेन्ट्सले सिजनको दोस्रो हार आत्मसाथ गरेको हो ।
पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोली नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेल सकिन चार मिनेट बाँकी छँदा लोरेन्जो ईनसिग्नीले भली गोल गर्दै अग्रता दोब्बर बनाउने काम गरे ।
अन्तिम मिनेटमा रोनाल्डोले गोल अन्तर घटाउने काम गरेका थिए ।
रोनाल्डो लगातार ८ लिग खेलमा गोल गर्दै युभेन्ट्सका पहिलो खेलाडी बनेका छन् ।
युभेन्ट्सका प्रशिक्षक सर्री सन् २०१८ पछि पहिलो पटक पुरानो क्लब गएका थिए । उनले नापोली छाडेर एक सिजन प्रिमियर लिग क्लब चेल्सीमा बिताएका थिए ।
जितसंगै नापोली २७ अंक जोडेर दशौं स्थानमा उक्लिएको छ । युभेन्ट्स ५१ अंक सहित तालिकाको शीर्ष स्थानमा यथावत छ ।