काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लबले साँघुरो जित निकालेको छ ।
शनिबार भएको खेलमा संकटाले फ्रेन्ड्स क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन अजयी मार्टिन्सले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा संकटाले दोस्रो हाफमा गोल गरेको थियो । खेलको ६४ औं मिनेटमा सुवास गुरुङको कर्नरमा अनमार्क रहेका मार्टिन्सले हेड गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको फ्रेन्ड्सले दोस्रो हाफमा उक्त लयलाई कायम राख्न सकेन । दोस्रो हाफमा संकटा हाबी भएको थियो ।
दोस्रो हाफको सुरुवातमै कर्ण लिम्बुको चिप बल पोस्टको नजिकैबाट बाहिरिदा संकटा अग्रता बनाउनबाट चुकेको थियो ।
यस्तै ८३ औं मिनेटमा अर्नेस्ट टेम्पीको पासमा मार्टिन्स गोल गर्न चुके । वान भर्सेस वानको अवस्थामा उनको प्रहार फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले उत्कृष्ट बचाउ गरे ।
खेलको इन्जुरी समयमा मासौके मारीको प्रहार पोस्टमा लागेर फर्कदा संकटा अग्रता दोब्बर बनाउन असफल भएको थियो ।
खेलमा संकटाका लक्ष्मण रुचाल म्यान अफ दि म्याच चुनिए ।
जितसँगै संकटाले ८ खेलमा १२ अंक जोडेको छ । र, लिगको सातौं स्थानमा उक्लिएको छ ।
फ्रेन्ड्सले ८ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स ११ औं स्थानमा रहेको छ ।
संकटा प्लेईङ सेट -
अमित तामाङ, एर्नेस्ट टाम्पी, लक्ष्मण रुचाल,मासौके मारी, सुबास गुरुङ, विनय श्रेष्ठ,राजेन्द्र रावल,कर्ण लिम्बु,अजयी मार्टिन्स, रोमन लिम्बु,रबि सिलवाल
फ्रेन्ड्स प्लेईङ सेट -
फिलिपे डी सौजा, साउलो डी,सुरज गुरुङ,विश्व अधिकारी,देव लिम्बु,उत्तम राई,रुमेश बर्तौला,सरोज योन्जन लामा, निसेन सुब्बा,वाग्नेर डी कार्मो, यादु सिलवाल