काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
एनआरटीविरुद्ध बल पोजिसनमा पकड जमाएपनि आर्मीले गोल गर्न सकेन । उसका लागि एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेका थिए । आर्मीका पदक पटकको प्रहार उनले उत्कृष्ट बचाऊ गरे ।
खेलको १६ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले डिबक्सको ठिक बाहिरबाट हानेको सशक्त प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।
यस्तै खेलको १७ औं मिनेटमा एनआरटीले पनि गोलको अवसर गुमायो । उसका दर्शन गुरुङले डिबक्स भित्रबाट बाहिर प्रहार गरे ।
खेलको ८० औं मिनेटमा सुमन अर्यालको हेड बाहिरिएको थियो ।
खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो ।
यस्तै इन्जुरी समयमा आर्मीका सन्तोष तामाङको उत्कृष्ट फ्रिकिक पनि अजितले उत्कृष्ट बचाऊ गरे ।
खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति म्यान अफ दि म्याच चुनिए ।
एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ ।
आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । र, आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ ।
एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
आर्मीका प्रशिक्षक नविन न्यौपानेले खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति बाधक बनेको बताए ।
'हामी ३ अंक जोड्ने लक्ष्यमा थियौं । तर, सफल भएनौं । हामीले धेरै मौका पाएको हो तर अजित बाधक देखियो । गत सिजन पनि अजित बाधक भएका थिए,' नविनले भने ।
यस्तै प्रशिक्षक न्यौपानेले टिमको स्ट्राइकरमा समस्या रहेको बताए ।
'दोस्रो हाफमा हामीले धेरै मौका पाएका थियौं । हामीले पाएको गोलमा गर्न सकेका छैनौँ । हाम्रो स्ट्राइकरमा समस्या देखिएको छ । ट्रेनिङमा फोकस गरेपनि सफल भएका छैनौँ,' उनले भने, 'अब खेलमा सुधार गर्ने छौँ ।'
एनआरटीका प्रशिक्षक राजु काजी शाक्यले लिगका लागि आर्मीसँगको अंक महत्वपूर्ण भएको बताए ।
'हामी तीन अंक जोड्ने योजनामा थियौं । तर, अंक आएको छ । हामीले आर्मीको दबाबलाई रोक्न सक्यौ,' उनले भने, 'शीर्ष ६ को लागि यो अंक निकै महत्वपूर्ण रह्यो । खेलाडीको प्रदर्शनबाट खुसी छु ।'