काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अहिले त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र एनआरटीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको १६ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले डिबक्सको ठिक बाहिरबाट हानेको सशक्त प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतिले उत्कृष्ट बचाउ गरे ।
यस्तै खेलको १७ औं मिनेटमा एनआरटीले पनि गोलको अवसर गुमायो । उसका दर्शन गुरुङले डिबक्स भित्रबाट बाहिर प्रहार गरे ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । एनआरटी ११ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।