काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ ।
पहिलो खेलमा न्युरोड टिम एनआरटी र एपीएफ तथा दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै खेल ललितपुरकाे सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ । पहिलाे खेल बिहान साढे ११ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा फ्रेन्ड्स र सरस्वती दिउँसो ३ बजे भिड्नेछन् ।
सातौ र आठौ चरणका सबै खेल दशरथ रंगशालामा हुने बताएपनि बिहीबार र शुक्रबार भारी बर्षाका कारण खेल एन्फा कम्प्लेक्समा सारिएको हो ।
एपीएफलाई सुधारको मौका
घरेलु फुटबलमा विभागीय टिमको बेग्लै शान छ । तर तीन विभागीय टिममा पुरुष फुटबलमा सबैभन्दा कमजोर टम एपीएफको हो । शीर्ष डिभिजनको लिगको सातौं चरणको खेल चलिरहेको छ ।
आईतबारको खेलमा न्युरोड टिम एनआरटीविरुद्ध मैदान उत्रदै गर्दा एपीएफ दोस्रो जितको खोजीमा हुनेछ ।
एपीएफले १ खेलमा जित, ३ खेलमा हार र २ मा बराबरी गरेको छ । एनआरटी भने चौथो जित निकाल्न चाहन्छ । उसले ३ खेलमा जित, २ मा हार र १ मा बराबरी गरेको छ ।
एनआरटीविरुद्ध जित निकाले एपीएफ रेलिगेशन जोनको डरबाट माथि उक्लिएर शीर्ष ८ भित्र छिर्नेछ । जितले एनआरटीलाई शीर्ष ६ भित्र पार्नेछ ।
गत सिजन रेलिगेशन जोनमा रहेका कारण एनआरटीले दुई अंक ऋण बोकेर लिगको सुरुवात गरेको थियो ।
एनआरटी क्लबका प्रशिक्षक राजु काजी शाक्य टिमलाई शीर्ष तीन भित्र पुर्याउने दाउमा छन् ।
शाक्यले विभागीय टिम निकै बलियो हुने बताउँदै जित निकाल्न अधिकतम प्रयास गर्ने प्रष्ट पारेका छन् ।
‘विभागीय टिम बर्ष दिननै अभ्यासमा रहँदा खेल्न गाह्रो हुन्छ । तर पनि एपीएफलाई हराउँदै शीर्ष ६ भित्र पर्न चाहन्छौं ।’ शाक्य भन्छन् ।
अन्तिम खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपनि एनआरटीले अर्काे विभागीय नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
लिगको पहिलो खेलमा सरस्वती युथ क्लबलाई ४–० ले पराजित गरेको एनआरटी दोस्रो खेलमा संकटासँग १–० ले पराजित भएको थियो ।
तेस्रो खेलमा च्यासल युथ क्लबलाई २–१ ले हराएको एनआरटीले मछिन्द्रलाई १–० ले नतिजा सुम्पिएको थियो ।
पाचौ खेलमा जावलाखेल युथसँग गोल रहित बराबर खेलेको उसले अन्तिम खेलमा पुलिसलाई १–० ले हराएको थियो ।
एपीएफविरुद्ध एनआरटीले विदेशी मिडफिल्डर जुनियरलाई गुमाउने छ ।
एनआरटीले पहिलो पटक साउथ एसियन कोटाबाट एक भारतीय खेलाडीलाई मैदान उतार्ने तयारी गरेको छ ।
आई लिग खेलाडी मैदान उतार्ने तयारी गरेको एनआरटीसंग अब ४ बिदेशी खेलाडी उपलब्ध रहनेछन् ।
गत सिजन एनआरटीविरुद्ध एपीएफले बाजी मारेको थियो । खेल एपीएफले २–१ ले आफ्नो पक्षमा पारेको थियो ।
यता, युवा खेलाडी प्रेरित एपीएफ भने एनआरटीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ ।
प्रशिक्षक राजेन्द्र तामाङ एनआरटीलाई हराउँदै रेलिगेशन जोनबाट माथि उक्लिने लक्ष्यमा छन् ।
‘एनआरटी बलियो टिम हो । पछिल्लो खेलमा युवा टिमले राम्रो खेल खेलिरहेको छ । त्यसैले एनआरटीलाई हराउँने दाउमा छौं ।’ उनी भन्छन् ।
अन्तिम खेलमा नाम चलेका खेलाडीलाई बेन्चमा राखेका तामाङले च्यासललाई गोलरहित बराबरीमा रोक्न सफल भएका थियो । दोहोरो पहिलो कार्डका कारण अघिल्लो खेल गुमाएका भरपर्दा फरवार्ड आशिष लामा आईतबारको खेलमा उपलब्ध हुनेछन् ।
रेलिगेशन जोनको लडाई
लिगको रेलिगेशन क्षेत्रको नजिकै रहेका क्लब हुन्, सरस्वती युथ र फ्रेण्डस् क्लब ।
अखिल नेपाल फुटबल संघ एन्फाले जम्मा एक टिममात्रै रेलिगेशनमा पर्ने नियम बनाएको छ ।
अंक दुरी खासै फरक नहुँदा दुवै टिम रेलिगेशनको नजिक छन् । लिगका ६ चरणका खेल समाप्त भैसकेका छन् ।
रेलिगेशनमा पर्ने टिमका बारेमा बोल्न केही समय कुर्नुपर्ने हुन सक्छ ।
रेलिगेशन जोनको नजिक रहेका फ्रेण्ड्स र सरस्वती आईतबारको सातौ चरणको खेलमा आमने सामुने हुँदैछन् ।
जित निकाल्दै फ्रेण्ड्स र सरस्वती रेलिगेशन क्षेत्रबाट केही टाढा जान चाहन्छन् ।
फ्रेण्ड्स दोस्रो जितको खोजीमा छ । सरस्वती पहिलो जित निकाल्न चाहन्छ ।
तालिकाको पुछारको सरस्वतीले ५ हार र एक बराबर गरेको छ ।
फ्रेन्ड्स १ जित, ३ हार र २ बराबरी सहित तलिकाको १२ औं स्थानमा छ ।
फ्रेण्ड्सका सहायक प्रशिक्षक शुक्र तामाङ सरस्वतीविरुद्ध जित निकाल्दै शीर्ष ६ भित्र पर्न योजना रहेको बताउँछन् ।
‘अन्तिम खेलमा जित निकालेका छौं । खेलाडीमा मनोबल बढेको छ । दुबै उस्तै टिम रहेकाले तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
लिगको छैठौ खेलमा पहिलो जित निकाल्ने क्रममा फ्रेण्ड्सले ललितपुरकै पुर्व लिग च्याम्पियन थ्री स्टारलाई पराजित गरेको थियो ।
तीन ब्राजिलियन र एक साउथ एसियन कोटाका भारतीय खेलाडी भित्राएको फ्रेण्ड्सको पहिलो जितमा ब्राजिलियन खेलाडीले निर्णायक गोल गरेका थिए ।
फ्रेन्ड्स पहिलो खेलमा आर्मीसँग २–१ ले, ब्रिगेड ब्वाइजसँग २–० ले, मछिन्द्रसंग ३–० ले पराजित भएको थियो भने साविक विजेता मनाङ मस्र्याङ्दी क्लबसँग १–१ को बराबरी खेलेको थियो ।
पाँचौै खेलमा शेर्पासँग गोलरहित खेलेको उसले थ्रीस्टारलाई १–० गोल अन्तले हराएको थियो ।
फ्रेण्ड्सले चार विदेशी खेलाडीलाईनै आईतबारको खेलमा मैदान उतार्ने छ । उसलाई सबै खेलाडी उपलब्ध हुनेछन् ।
गतसिजन दुई टिमको भिडन्तमा सरस्वतीले बाजी मारेको थियो ।
फ्रेन्ड्सलाई सरस्वती ३–० ले हराएको थियो ।
सरस्वतीका प्रशिक्षक प्रदिप नेपाल टिमको प्रदर्शनमा सुधार आउँदै गएको बताउँदै फ्रेण्ड्सविरुद्ध जित निकाल्ने बताउँछन् ।
‘खेलाडीको प्रदर्शनको स्तर बढ्दै जाने क्रममा छ । फ्रेण्डस्विरुद्ध राम्रो गछौं । रेलिगेशनको डर छैन । सबै टिमको अंक उस्तै रहँदा अझै राम्रो गर्ने प्रयास टिमको रहनेछन ।’ उनी भन्छन् ।
अन्तिम खेलमा ब्रिगेड ब्वाईज क्लबसँग गोलरहित बराबरी खेल्दै सरस्वतीले लिगमा पहिलो अंक जोडेको थियो ।
सरस्वतीले यसअघि एनआरटीसँग ४–०, जावलाखेलसँग १–०, पुलिससँग २–०, एपीएफसँग २–१, आर्मीसँग १–० ले हराएको थियो । यस्तै, बीबीसीसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको थियो ।
फ्रेण्ड्सविरुद्ध सरस्वतीले आफ्ना तीनै विदेशी खेलाडीलाई मैदान उतार्ने योजना बनाएको छ ।