काठमाडौं । हिमालयन शेर्पा क्लबका विंगर विश्वास श्रेष्ठले सहिद स्मारक 'ए' डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् ।
घुँडाको चोटको कारण विश्वासले लिगको बाँकी खेल गुमाउने भएका हुन् ।
शेर्पाका मुख्य प्रशिक्षक सन्जिब बुढाथोकीले उनले घुँडाको चोट बोकेको र चोटको शल्यक्रिया गरिएको कारण विश्वास लिगमा उपलब्ध नहुने बताए ।
‘विश्वास त्रिभुवन आर्मीसँगको खेलमा घाईते भएका थिए । उनको चोटको अप्रेसन गरेका कारण उ अब टिममा हुने छैन,’ प्रशिक्षक बुढाथोकीले भने ।
एन्फा एकेडेमीबाट उत्पादित विश्वासले लिगको तेस्रो चरण अन्तर्गत आर्मीसँगको खेलमा घुँडाको चोट बोकेका थिए । खेलको ८२ औं मिनेटमा चोट बोक्दै विश्वासले मैदान छाडेका थिए ।
सातदोबाटोस्थित बीएण्डबी हस्पिटलमा विश्वासको चोटको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि विश्वास घर फर्किसकेका छन् ।
‘घाईते भएपछि उसले अब लिगको सबै खेल गुमाउने छ । त्यसैले विश्वास घर फर्किसकेका छन्,’ शेर्पाका कप्तान मान बहादुर तामाङले भने ।
विश्वासले नेपालको यू-१४, १५, १६, १९ र यू-२३ को उमेर समूहबाट खेलिसकेका थिए । यस्तै राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत पर्दै आएका थिए ।

टिमका अनुभवी र मुख्य खेलाडीले चोट बोकेपछि शेर्पालाई समस्या थपिएको छ ।
‘विश्वासलाई मुख्य खेलाडी बनाएर टिम तयारी गरेका थियौं । सुरुमै घाईते हुँदा हामीलाई गाह्रो भयो । अट्याक बलियो हुन सकेन ।’ प्रशिक्षक बुढाथोकी भन्छन् ।
गत सिजन पनि शेर्पाबाट खेलेका विश्वासले ७ गोल गरेका थिए । उनको ७ गोल मद्दतमा शेर्पा सातौं स्थानमा रहेको थियो । उनले मनाङ, ब्रिगेड ब्वाईज, एनआरटी, पुलिस र सरस्वती युथविरुद्ध एक एक गोल गरेका थिए ।
यस्तै लिगमा दुई पटक म्यान अफ दि म्याच चुनिएका थिए । सरस्वती युथलाई पराजित गर्दा र नेपाल पुलिस क्लबविरुद्ध एक एक गोलको बराबरी खेल्दा विश्वास म्यान अफ दि म्याच चुनिएका थिए ।
यस सिजनको तीन खेलेका भने उनले कुनै गोल गर्न सकेनन् ।
यस सिजन ३ खेल बराबर गरेको शेर्पा १२ औं स्थानमा रहेको छ । उसले फ्रेन्ड्स, पुलिस र एपीएफसँग अंक बाडेको थियो । यस्तै आर्मी र ब्रिगेडसँग भने हार ब्यहोरेको थियो ।