एजेन्सी । लिभरपुल तथा सेनेगलका फरवार्ड साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन् ।
सेनेगलका फरवार्डले लिभरपुलका सहकर्मी तथा ईजिप्टका फरवार्ड मोहमद सलाहा र म्यान्चेष्टर सिटीका फरवार्ड तथा अल्जेरियन विङ्गर रियाद महरेजलाई पछाडी पार्दै अफ्रिकन बर्ष खेलाडी चुनिएका हुन् ।
२७ बर्षका मानेले गत सिजन लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन पुरै सिजन सबै प्रतियोगितामा ३० गोल गरेका थिए ।
उनले यसै बर्षमात्र १५ गोल गरेका छन् । प्रिमियर लिगमा लिभरपुलले १३ अंकको अग्रता लिएको छ । क्लब तालिकाको शीर्ष स्थानमा बलियो बनेर बसेको छ ।
'म निकै खुसी र गर्वको महशुश गरेको छुु । फुटबल मेरो कर्म हो । म यसलाई प्रेम गर्छु ।' उनले भने ।
'म मेरो परिवार, राष्ट्रिय टिम, सहकर्मी अफिसियल, लिभरपुल क्लबप्रति आभारी छु । यो मेरा लागि निकै ठुलो दिन हो ।' मानेले थपेका छन् ।
माने पछिल्लो तीन बर्ष शीर्ष तीन खेलाडीको रुपमा पर्दै आएका थिए । यसअघिको दुई संस्करणको अवार्ड भने लिभरपुल स्टार सलाहाले प्राप्त गरेका थिए ।
लिभरपुल तथा सेनेगलका पूर्व फरवार्ड एल हदजी डिउफले सन् २००२ मा सो अवार्ड प्राप्त गरेका थिए । डिउफपछि अफ्रिकन बर्ष खेलाडीको अवार्ड पाउने माने सेनेगलका पहिलो खेलाडी हुन् ।
महरेजले भने वर्ष गोलको अवार्ड हात पार्न सफल रहे ।
उनले अफ्रिकन कपमा अल्जेरियाविरुद्व फ्रिकिकमा गोल गर्दै सेमिफाईनलमा जित दिलाएका थिए । उनको सोही गोल बर्षको उत्कृष्ट गोल बन्न सफल रह्यो ।