काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दलाई घरेलु लिग खेलाउन ठुला क्लबहरु ईच्छुक देखिएका छन् ।
राजधानीमा सञ्चालन भईरहेको सहिद स्मारक ए डिभिजन लिग खेलाउन घरेलु फुटबलका ठुला क्लबहरुले ईच्छा देखाएका हुन् ।
ईन्डोनेसियाको पर्सिजा जाकार्ताबाट ब्यवसायीक फुटबल खेलिरहेका रोहित लिग सकिए लगत्तै नेपाल आएका छन् ।
ईन्डोनेसियाको लिग सुरु हुन अझै तीन महिना लाग्ने भएकाले रोहितले केही समय नेपालमै आराम गर्नेछन् ।
नेपाल आएको समय घरेलु फुटबलका ठुला क्लबहरु मछिन्द्र, मनाङ, च्यासल र एपीएफले रोहितलाई लिग खेलाउन प्रस्ताव गरेका हुन् ।
रोहित व्यवसायीक रुपमा एसियाकै उत्कृष्ट मानिने लिग वानबाट पछिल्लो समय खेलिरहेका छन् । डिफेन्डरबाट फुटबल करियर सुरु गरेका उनी पछिल्लो समय सेन्ट्रल मिडफिल्डबाट खेल्ने गरेका छन् ।
मछिन्द्रबाट व्यवसायीक रुपमा घरेलु लिग खेल्न सुरु गरेका रोहितले मनाङ लगायतका क्लबबाट नेपाली फुटबल खेलेका छन् ।
लिग उपाधि जित्न खेलाडीमा ठुलो रकम लगानी गरेको मछिन्द्रले लिग सुरु गरेको क्लबबाट खेल्न ए डिभिजन लिग खेल्न रोहितलाई प्रस्ताव गरेको छ ।
यस्तै, मनाङ, च्यासल लगायतका क्लबले समेत रोहितलाई लिग खेलाउनका लागि प्रस्ताव गरिरहेका छन् ।
‘नेपालमै भएको समय ठुला क्लबहरु रोहितलाई लिग खेलाउन ईच्छुक छन् ।’ रोहितको लोकल म्यानेजर समेत रहेका दाजु रविन चन्दले खेलपाटीसंग भने, ‘तर पर्सिजासंग रोहितको सम्झौता जनवरीसम्म बाँकीनै छ ।’
जनवरीसम्म सम्झौता भएपनि पर्सिजाले ट्रान्सफर म्याचिङ सिस्टम (टीएमएस) उपलब्ध गराए रोहित घरेलु लिग खेल्न पाउनेछन् ।
‘छोटो समय भएकाले प्रक्रिया पुरा गर्न गाह्रो छ । लामो समय ईन्डोनेसियामा खेलेका कारण रोहितलाई आरामको समेत आवश्यकता छ ।’ रविनले भने ।
गत बर्ष पर्सिजा जाकार्ताले लिग जित्ने क्रममा रोहितले राम्रो प्रर्दशन गरेका थिए । सोही कारण उनी लिगकै सर्वोकृष्ट खेलाडी घोषित भएका थिए ।
तर यस सिजन पर्सिजाले लिगमा राम्रो गर्न सकेन । दशौं स्थानमा रहँदै पर्सिजाले लिगको अन्त्य गरेको थियो ।
ईन्डोनेसियामा लिग सुरु हुन अझै केही समय लाग्ने भएकाले रोहित केही महिना नेपालमै आराम गर्नेछन् ।