एजेन्सी । स्पेनिस लिजेण्ड जाभी हर्नान्डेजले म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओला विजेता बन्नका लागि जन्मिएको बताएका छन् ।
कतारको क्लब अल साउदका मुख्य प्रशिक्षक रहेका जाभीले ग्वार्डीओलाको जन्म विजेता बन्नको लागि भएको बताउँदै सिटी अहिले च्याम्पियन्स लिग जित्न केन्द्रित रहेको बताए ।
‘पेपको जन्म विजेता बन्न भएको हो,’ आफ्ना पूर्व प्रशिक्षक समेत रहेका ग्वार्डीओलाबारे जाभीले भने ।
जाभीले ग्वार्डीओलाको नेतृत्वमा सन् २००८ देखि १२ सम्म बार्सिलोनाबाट खेलेका थिए ।
जाभीले प्रिमियर लिगको उपाधि होडमा सिटी लिभरपुलसँग निकै पछि पर्दा भने पेपलाई चोट पुगेको बताए ।
‘लिगमा लिभरपुलभन्दा सिटी धेरै पछि छ यो कुराले उनलाई धेरै चोट पर्छ र उ हार मान्दैन,’ जाभीले भने, ‘पेप व्यावहारिक छन् । तर, लिभरपुलसँग ठूलो अग्रता छ र यस क्षणमा उनीहरुले तीन उपाधि जित्न सक्दैनन् । मेरो विचारमा यहाँ ठूलो मौका छ पेपले च्याम्पियन्स लिगलाई प्राथमिकता दिनेछ ।’
अघिल्ला दुई सिजन लगातार उपाधि जितेको सिटी यस सिजन भने लिग लिडर लिभरपुल भन्दा १४ अंकले पछि रहेको छ । सिटी यस सिजन लिगको तेस्रो स्थानमा रहेको छ ।