काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिबन्धमा परेका राष्ट्रिय फुटबल टिमका सदस्य सन्तोष तामाङ र अन्जन बिष्ट यसै साताबाट मैदान फर्कने भएका छन् ।
एन्फाको ४५ दिने प्रतिबन्ध बुधबारबाट सकिने भएसँगै सन्तोष र अन्जन यसै साताबाट मैदान फर्कने भएका हुन् ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलअघि नाइट क्लबमा बिताएपछि एन्फाको अनुशासन कमिटिले सन्तोष र अन्जनलाई फुटबलमा ४५ दिने प्रतिबन्ध र ५० हजार जरिवाना गरेको थियो ।
यस्तै सोहि काण्डमा मुछिएका विमल घर्ति मगर र दिनेश राजवंशीलाई ५० हजार जरिवानासहित ९० दिनको प्रतिबन्ध गरेको थियो । जसको कारण चारै खेलाडीले विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल र घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद गुमाएका थिए ।
तर, खेलाडीले अपिल गरेपछि एन्फाले चारै खेलाडीको प्रतिबन्ध २७ दिन घटाएको थियो । जस अन्तर्गत सन्तोष र अन्जनको प्रतिबन्ध बुधबारबाट फुकुवा हुँदैछ।
प्रतिबन्ध फुकुवा भएसँगै सन्तोष सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत चौंथो चरणको खेलबाट मैदान फर्कने छन् । अन्जन भने पाँचौ चरणको खेलबाट मैदान फर्कने छन् ।
त्रिभुवन आर्मी क्लबका सेन्टर मिडफिल्डर सन्तोष फुकुवा भएकै दिन मैदान उत्रने छन् । आर्मीले बुधबार थ्री स्टारसँग खेल्दैछ । उक्त खेलबाट सन्तोषले आर्मीको सेन्टर मिडफिल्ड सम्हाल्ने छन् ।
मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर अन्जन भने शनिबारबाट मैदान फर्कने छन् । साविक विजेता तथा लिग लिडर मनाङले शनिबार मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।
विमल र दिनेशले भने लिग खेल्न केहि समय कुर्नु पर्नेछ । दिनेश च्यासल युथमा रहेका छन् भने विमल कुनै पनि क्लबमा अनुबन्ध भएका छैनन् ।