काठमाडौं । लिगमा अपराजित रहेको जावलाखेल चौथो चरणसम्म आईपुग्दा लयमा देखिन्छ ।
लिगमा तीन चरणको खेल सकिदाँ उसले हार ब्यहोर्नु परेको छैन । मंगलबार उसले लिगको चौथो खेलमा च्यासल युथको सामना गर्दैछ ।
खेल एन्फा कम्प्लेक्समा बिहान साढे ११ :३० बजे सुरु हुनेछ ।
लिग च्याम्पियन हुने लक्ष्य बनाएको च्यासललाई अपराजित जावलाखेलले कडा चुनौतीको प्रयास गर्नेछ । जावलाखेलविरुद्ध च्यासलका फरवार्ड सन्तोष साहुखल थोरै दबाबमा हुन सक्छन् । उनी घरेलु लिग फुटबलमा सय गोलको संघारमा छन् ।
लिग जित्ने लक्ष्य बनाएको च्यासलले तीन खेल सकिदाँ एक जित, एक बराबरी र एकमा हार ब्यहोरेको छ । च्यासल ४ अंक सहित लिगको आठौं स्थानमा छ ।
पहिलो खेलमा संकटालाई २–० ले पराजित गरेको च्यासल दोस्रो खेलमा मछिन्द्रसँग एक एक गोलको बराबरीमा रोकिएको थियो । तेस्रो चरणमा भने एनआरटीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
लिग जित्ने लक्ष्य बनाएको च्यासललाई लिगको उपाधि होडमा फर्कन जित आवश्यक देखिन्छ ।
प्रशिक्षक बाल गोपाल साहुखल जावलाखेल युथविरुद्ध जित हात पार्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।
‘जावलाखेल राम्रो टिम हो । सन्तुलित टिम छ । तर हामी जितको लागि खेल्छौं । लिग जित्न भनेर अगाडी बढेका छौं । खेलाडीमा आत्माविश्वास छ ।’ उनी भन्छन् ।
गत सिजन दुवै टिमले एक एक गोलको बराबरी खेलेका थिए ।
यता, अपराजित जावलाखेल पनि च्यासलसँग कडा चुनौती दिने बताउँछ । प्रशिक्षक नरेश गिरी बलियो च्यासलसँग आफ्नो टिम भिड्न तयार रहेको बताउँछन् ।
‘च्यासल बलियो टिम हो । उसलाई राम्रो चुनौती दिन चाहन्छौं ।’ उनी भन्छन् ।
जावलाखेलले च्यासलविरुद्ध विदेशी खेलाडी ड्याडी जुनियरलाई गुमाउने छ । उनी दोहोरो पहेलो कार्डको कारण निलम्बनमा छन् ।
जावलाखेलले लिगको पहिलो खेलमा थ्रीस्टार र संकटासँग बराबर खेलेको छ । सरस्वतीलाई पराजित गरेको थियो ।
तीन खेल सकिदाँ जावलाखेल पाँचौं स्थानमा छ । च्यासल आठौं स्थानमा छ ।