एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले आर्सनलका नवनियुक्त प्रशिक्षक मिकेल अर्टेटा विश्वको उत्कृष्ट प्रशिक्षक बन्ने बताएका छन् ।
आर्सनलले शुक्रबार मुख्य प्रशिक्षकमा नियुक्त गरेपछि ग्वार्डीवालाले अर्टेटासँग विश्वको उत्कृष्ट प्रशिक्षक बन्ने क्षमता रहेको बताएका हुन् ।
मिकेल म्यानचेस्टर सिटीका उत्कृष्ट प्रशिक्षक थिए,' सिटीको वेबसाइटसँग कुरा गर्दै ग्वार्डीवालाले भने., 'आर्सनलको यस कदम फुटबल विकासको अर्को चरण हो । म निश्चित छु उ एक विश्वको उत्कृष्ट प्रशिक्षक बन्ने छन् ।'
सिटीमा ग्वार्डीवालाको सहायक प्रशिक्षक रहेका अर्टेटाले आर्सनलसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । आर्सनलले मुख्य प्रशिक्षक उनाइ इम्रीलाई बर्खास्त गरेको तीन सातापछि ३७ वर्षीय अर्टेटालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यस्तै प्रशिक्षक ग्वार्डीवालाले सिटीका लागि उनले धेरै योगदान दिएको र मुख्य प्रशिक्षकका लागि अर्टेटा तयार रहेको समेत बताए ।
'उनले यहाँ कडा मेहेनत, समर्पण र फुटबलको ज्ञान देखाए । क्लबको उपलब्धिमा उनले धेरै योगदान दिएका छन्,' ग्वार्डीवालाले भने, 'नयाँ भूमिकाका लागि उनलाई म शुभकामना दिन्छु । म पक्का छु उ त्यसका लागि तयार छन् ।'
ग्वार्डीवाला सन् २०१६ मा सिटी आएपछि अर्टेटा सहायक प्रशिक्षक बनेका थिए । अर्टेटाले सिटीलाई दुई प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।