काठमाडौं । एपीएफ क्लब समूह विजेता बन्दै सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा आयोजक त्रिभुवन आर्मी क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै एपीएफ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
लगनखेलस्थित नेपाली सेनाको मैदानमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै अनिता बस्नेत र अनु लामाले एक एक गोल गरिन् ।
आर्मीका विमला चौधरी र रश्मी कुमारी घिसिङले एक एक गोल फर्काईन् ।
घरेलु टिमविरुद्ध एपीएफले खेलको १५ औं मिनेटमा अनिताको गोलबाट अग्रता बनाएको थियो । १८ औं मिनेटमा सावित्राले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।

खेलको २५ औं मिनेटमा आर्मीका विमलाले गोल गर्दै खेल २-१ मा ल्याईन । ४६ औं मिनेटमा अनुले गोल गर्दै एपीएफलाई ३-१ को अग्रता दिलाईन् । ५२ औं मिनेटमा रश्मीले गोल गर्दै आर्मीलाई ३-२ को स्थितिमा ल्याईन् । तर, खेलको ५३ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ४-२ को जित दिलाईन् ।
खेलमा एपीएफकी गीता राना मगर वुमन अफ दि म्याच बनिन् ।

जितसँगै समूह 'ए' को एपीएफले ३ खेलमा ३ जितसहित ९ अंक जोड्यो । आर्मी भने ६ अंकसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

अर्को खेलमा प्रदेश १ ले सिक्किम महिला फुटबल टिमलाई २-० ले हराएको छ ।
प्रदेश १ को जितमा सुनिता तामाङले दुई गोल गरिन् । सिक्किमलाई पराजित गरेपनि प्रदेश १ सेमिफाइनलमा पुग्न सकेन ।
अर्को समूहबाट नेपाल पुलिस क्लब र भुटान महिला टिम सेमिफाइनलमा प्रवेश गरेका छन् ।
