काठमाडौं । मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई २-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुवात गरेको हो ।
गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको मछिन्द्रका लागि योगेश गुरुङ र दिपक राईले एक एक गोल गरे ।
आधा दर्जन राष्ट्रिय टिमका खेलाडीसहित मैदान उत्रिएको मछिन्द्रले ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट अग्रता बनाएको थियो । बिशाल राईको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि रिबाउन्ड बलमा योगेशले गोल गरेका थिए ।
त्यसअघि खेलको १९ औं मिनेटमा रंजित धिमालको फ्रिकिक पोस्ट बारमा लागेर फर्किदा मछिन्द्र अग्रता बनाउन चुकेको थियो । ब्रिगेडका कप्तान अनिल गुरुङले हेमन गुरुङलाई फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो ।
४४ औं मिनेटमा मछिन्द्रका दिपकले अग्रता दोब्बर बनाउने मौका गुमाए । उनको फ्लिक बल ब्रिगेडका गोलकिपर विशाल सुनारले उत्कृष्ट बचाउ गरे ।
तर, खेलको ५० औं मिनेटमा दिपकले गोल गर्दै मछिन्द्रलाई २-० को जित दिलाए । दिपकले तीन डिफेन्डरलाई छलाउदै गोल गरेका थिए ।
युवा खेलाडीले भरिएको ब्रिगेडले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि दोस्रो हाफमा केहि राम्रो अवसर खेर फालेका थिए । ७६ औं मिनेटमा कप्तान अनिल गुरुङले प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । यस्तै ८८ औं मिनेट अनिलको पासमा जया गुरुङको प्रहार मछिन्द्रका किपर विशाल श्रेष्ठले मुश्किलले बचाए ।
खेलमा म्यान अफ दि म्याच मछिन्द्रका विशाल राई चुनिए । उनले केल्मी म्यान अफ दि म्याच स्वरुप १० हजार रुपैयाँ प्राप्त गरे ।

जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अंक जोडेको छ । तर, गत सिजन पुछारबाट दोस्रो स्थानमा रहेको कारण मछिन्द्रले २ अंक मात्र पाएको छ ।
एन्फाले गत सिजन रेलिगेसनबिनाको लिग गरेको थियो । तर, अन्तिम दुई स्थानमा रहेको टिमको एक र दुई अंक घटाउने निर्णय गरेको थियो ।
खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल ३ अंक जोड्न पाएकोमा खुसी देखिए । उनले पहिलो खेल सधै गार्हो हुने बताउँदै महत्वपूर्ण तीन अंक बटुल्न सफल भएको बताए ।
'तीन अंक आएको छ । खुसी छौँ । पहिलो खेल सधै गाह्रो हुन्छ । महत्त्वपूर्ण तीन अंक हो । पहिलो खेलको कमिकमजोरी सुधार गरेर अघि बढ्ने छौँ,' प्रशिक्षक कटवालले भने ।
म्यान अफ दि म्याच बनेका विशालले लिगको उपाधिबारे अहिले भन्न नसकिने तर शीर्ष तीनमा भने पक्का रहने बताए ।
'हामीलाई धेरै दबाब छ किनकी सबैले हामीलाई दाबेदार भनेका छन् । लिग नजितेपनि शीर्ष तीनमा रहन्छौ,' विशालले भने ।
ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले पहिलो खेलमा पराजित भएपनि खेलाडीले राम्रो खेलेको बताए ।
'मछिन्द्र राम्रो टिम हो । स्टार खेलाडीसंग हाम्रोले राम्रो खेले । अनुभवी खेलाडीको प्रर्दशन अपेक्षा अनुसारनै रह्यो । गोल भएको भए हामीले दबाब दिन्थ्यौ । अरु दिन अझ राम्रो भएर आउँछौ ।' उनले थपे ।
मछिन्द्र प्लेईङ सेट : रञ्जित धिमाल, विजय धिमाल, विराज महर्जन (कप्तान), दीपक राई, हेमन गुरुङ, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, योगेश गुरुङ, अभिषेक रिजाल, विशाल राई, रेजिन सुब्बा
बैकल्पिक - मनिल रत्न शाही, प्रदीप कार्की, राज श्रेष्ठ, सुमन महर्जन, बुद्धराज लिम्बु, सुर्य अधिकारी, सुजल श्रेष्ठ,
ब्रिगेड प्लेईङ सेट : अनिल गुरुङ, जय गुरुङ, मनोज राई, पदम भट्टराई, रितिककुमार खड्का, रोशन दोङ, रन्दीप पौडेल, शिशिर लेखी, विजय गुरुङ, पृथ्वी चौधरी, बिशाल सुनार
बैकल्पिक - उत्तम गुरुङ, अन्जन महर्जन, दीपेन्कराज सिंह, रजत तिवारी, रोशन रानामगर, ब्रिजेश चौधरी, जीबन भट्टराई, सुबित कार्की
खेलाडी सब्सिच्युड -
ब्रिगेड - भित्र - बाहिर
ऋतिक कुमार खड्का - रोशन राना मगर
विजय गुरुङ - उत्तम गुरुङ
रोशन दोङ - एन्जल महर्जन
मछिन्द्र - भित्र - बाहिर
दिपक राई - बुद्ध चेम्जोङ
विशाल श्रेष्ठ -सुर्य अधिकारी