एजेन्सी । ब्राजिलियन लिजेण्ड रोनाल्डिन्होले अर्जेन्टिनाका लियोनल मेस्सी आफ्नो समयको मात्र सर्वोकृष्ट खेलाडी भएको बताएका छन् ।
दुई साता अघि बालोन डी'ओर अवार्ड जित्दै कीर्तिमान बनाएका मेस्सीबारे बोल्दै रोनाल्डिन्होले मेस्सी उसको समयको मात्र उत्कृष्ट भएको बताए ।
'मेस्सी इतिहासकै सर्वोकृष्ट खेलाडी हो भनेर भन्न सक्दिन तर उ उसको समयको उत्कृष्ट हो,' रोनाल्डिन्होले भने ।
मेस्सीले यस वर्षको बालोन डी'ओर जित्दै सर्वाधिक ६ पटक जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए । जसको कारण उनलाई फुटबल पण्डितहरुले इतिहासकै सर्वोकृष्ट खेलाडीको रुपमा अघि सार्दै आएका छन् ।
तर, मेस्सीका पूर्व सहकर्मी समेत रहेका रोनाल्डो भने त्यसलाई मान्न तयार छैनन् ।
'म मेस्सीबाट खुसी छु किनभने ऊ साथी हो, बार्सिलोनाको मुख्य केन्द्र पनि हो,' रोनाल्डिन्होले भने, 'मलाई तुलना मन पर्दैन किनकि इतिहासमा सबै भन्दा राम्रो को हो भनेर चिन्न गाह्रो छ । किनकी यहाँ डीएगो म्यारोडोना, पेले र रोनाल्डो छन् ।'