काठमाडौं । कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग आज (शनिबार) सुरु हुँदैछ ।
एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा मछिन्द्र क्लब र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
....................................
मछिन्द्रमा राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहार छन् । ब्रिगेडले उमेर समूहका खेलाडीलाई समावेश गर्दै टिम तयार बनाएको हो । मछिन्द्रले लिग जित्ने लक्ष्यसहित राष्ट्रिय टिमका नियमित ७ खेलाडी सहित घरेलु फुटबलमा ठुला नामलाई क्लबमा अनुबन्धन गरेको छ ।
ब्रिगेड ब्वाईजले एन्फा एकेडेमीका खेलाडीलाई प्राथमिकतामा राखेको छ । क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अनिल गुरुङ सहित केही पुराना खेलाडीलाई नयाँ सिजन टिममा समावेश गरेको ।
यस्तै यू–१८ साफ र एएफसी यू–१९ छनोट च्याम्पियनसिप खेलेका खेलाडी समेत टिममा रहेका छन् ।
यता, लिग जित्ने लक्ष्य सहित खेलाडी अनुबन्धन गरेका मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले थोरै समयमा राम्रो तयारी गरेको बताउँछन् ।
‘तयारीका लागि भन्दै १८–२० दिनमात्र खेलेको छौं । स्टार खेलाडी छन् । त्यसैले हाम्रो सुरुवातनै लिग जित्नमै केन्द्रित हुन्छ ।’ उनले भने ।
तर मछिन्द्रले गत सिजनको लिग अन्तिमबाट दोस्रोमा रहँदै टुंगाएको कारण उसले एक अंक गुमाउने छ । गत सिजन बिना रेलिगेशनको लिग गरेको एन्फाले अन्तिममा रहेका दुई क्लबको १ र २ अंक खोसिने बताएको छ ।
यता ब्रिगेड ब्वाईज क्लबका टिम ब्यवस्थापक अर्विन गुरुङले युवा टिमले भरिएको ब्रिगेडले अन्तिम ६ मा उक्लिने लक्ष्य राखेको बताए ।
‘सबै यू १९ टिमका खेलाडी छन् । केहि अनुभवि खेलाडी छन् । त्यसबाटनै अन्तिम ६ मा रहन खेल्छौं ।’ उनले भने ।
ब्रिगेडले लिगको लागि तीन पोखरेली खेलाडी भित्राएको छ । उसले राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङ, उत्तम गुरुङ र विजय गुरुङ टिममा अनुबन्धन गरेको छ ।
यसअघि अनिलले थ्रीस्टारबाट खेल्दा उत्तमले मछिन्द्रबाट खेलेका थिए । विजयले भने लिग खेलेनन् ।
ब्रिगेड :
अनिल गुरुङ (कप्तान), विजय गुरुङ, उत्तम गुरुङ, जय गुुरुङ, सुवित कार्की, मनोज राई, रजत तिवारी, रोशन राना मगर, रन्दीप पौडेल, ऋतिक खड्का, पदम भट्टाराई, व्रिजेश चौधरी, शिशिर लेखी, विशाल सुनार, एन्जल महर्जन, पृथ्वी चौधरी, रोशन दोङ ।
मछिन्द्र :
विराज महर्जन (कप्तान), सुजल श्रेष्ठ, अविषेक रिजाल, विजय धिमाल, विशाल राई, विशाल श्रेष्ठ, बुद्ध चेम्जोङ, देवेन्द्र तामाङ, दिपक राइ, हेमन गुरुङ, रेजिन सुब्बा, रंजित धिमाल, सुर्य अधिकारी, योगेश गुरुङ, पिटर सेगुन, ओडेलाजा सोमिडे, आन्द्रीयस निया ।