काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल घर्ति मगरसहित चार खेलाडीलाई जरिवानासहित प्रतिबन्ध लगाएको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि तत्काल निलम्बनमा परेका विमलसहित ४ खेलाडीलाई एन्फाले थप कारबाही गरेको हो ।
एन्फाको अनुशासन समितिले छानबिन गर्दै विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाएको छ । यस्तै अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध गरेको छ ।
एन्फाको अनुशासन समितिले प्रतिबन्धसँगै चारै खेलाडीलाई ५० हजार जरिवाना समेत गरेको छ ।
एन्फाले चारै खेलाडीको प्रतिबन्ध आजबाट सुरु भएको जनाएको छ ।
प्रतिबन्धसँगै चारै खेलाडीले एन्फाले आयोजना गरेको कुनैपनि प्रतियोगिता खेल्न नपाउने एन्फाका महासचिब इन्द्रमान तुलाधरले जानकारी दिए ।
एन्फाको प्रतिबन्धसँगै विमल र दिनेशले 'ए' डिभिजन लिग गुमाउने छन् । अन्जन र सन्तोषले भने आधा सिजन खेल्न पाउने छन् । 'ए' डिभिजन लिग शनिबार सुरु हुँदैछ ।
यस अघि चारै खेलाडीले कुवेतसँगको खेलसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) गुमाएका थिए ।
यो पनि पढ्नुहोस् -
दोहाेरियो 'डिस्को' काण्ड – विमल सहित चार खेलाडी बर्खास्त