काठमाडौं । जापानको जेएफएल यू-२३ टिमसँगको मैत्रीपूर्ण खेलमा नेपाल निलो पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा नेपाल निलो ४-० गोल अन्तरले पराजित भएको हो ।
जापानी टोलीलाई जित दिलाउन मासाहिको सुगिताले दुई गोल गरे । यस्तै सातोशी सुनोमाता र टोशिकी सासाकीले एक एक गोल गरे ।
खेलको ३० औं मिनेटमा सुगिताले गोल गर्दै जापानी टोलीलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा सुगिताले व्यक्तिगत दोस्रो गोल गर्दै जापानी टोलीलाई २-० को अग्रता दिलाए ।
६३ औं मिनेटमा सुनोमाताले गोल गर्दा जापानी टोलीको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा सासाकीले गोल गर्दै जापानी टोलीलाई सहज जित दिलाए ।
नेपाल निलो पूर्व राष्ट्रिय फुटबल टिमका सदस्य भोला शिलवालको कप्तानीमा मैदान उत्रिएको थियो ।
टिममा रुपेश केसी, रबी पासवान,सुवास गुरुङ, सुमन लामा, लक्ष्मण रुचाल, हेमन्त थापा मगर, छिरिङ गुरुङ, विजय धिमाल, अजित भण्डारी र अर्पण कार्की लगायतका खेलाडी रहेका थिए ।
अब जापानी टोलीले आइतबार 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग खेल्नेछ ।