काठमाडौं । शनिबारबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिगमा सानमिगेल मछिन्द्र क्लब र विभागीय टिम आर्मीले उपाधिमा दाबी प्रस्तुत गरेका छन् ।
प्रतियोगिताको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वाल र आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफुहरुको लक्ष्य लिग उपाधि रहेको प्रष्ट पारेका छन् ।
राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी अनुबन्धन गरेको मछिन्द्रले लिगको तयारी राम्रो भएको बताएको छ । मुख्य प्रशिक्षक कट्वालले सबै स्टार खेलाडी टिममा समावेश गरेको बताउँदै उपाधिका लागि खेल्ने प्रष्ट पारे ।
मछिन्द्रले मनाङ र थ्री स्टार सहित राष्ट्रिय टिमका अधिकांश अनुहार क्लबमा समावेश गरेको छ । खेलाडीमा मात्र झण्डै करोड बढीको बजेट तयार गरेको मछिन्द्रले लिग उपाधि जित्ने लक्ष्य राखेको छ ।
यस्तै, आर्मी प्रशिक्षक नविन न्यौपानलेले लिगलाई लक्षित गरेर निकै अगाडी देखि तयारी गरिरहेको बताए । उनले लिग उपाधि जित्नका लागि खेल्ने प्रष्ट पारे ।
शारिरिक र प्राविधिक रुपमा अब्बल खेलाडी रहेपनि मछिन्द्र लिगले अहिलेसम्म लिग उपाधि जित्न सकेको छैन । ‘पछिल्लो बर्ष समेत लिगलाई केन्द्रित गरेका थियौ ।’ उनले भने, ‘सागले गर्दा तयारीमा केही असर गर्यो । तर यसपटक लिग जित्नका लागि खेल्नेछौ ।’
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले लिगका लागि एक महिनादेखि तयारी गरिरहेको बताउँदै टिम सेट हुन नपाएको उल्लेख गरे । उनले तालिकाको शीर्ष ६ मा पर्ने लक्ष्य राखेको भन्दै लिगका लागि आफुहरु तयार रहेको बताए ।
पुलिस क्लबका म्यानेजर भरत शाहले विभिन्न कारणले क्लबले लिगको राम्रो तयारी गर्न नपाएको बताए । विदेशी खेलाडी नभएका कारण लिग खेल्न समस्या हुने बताउँदै उनले लिग जित्नका लागि प्रयास गरिने बताए ।
यस्तै, च्यासलका प्रशिक्षक बालगोपाल शाहुखलले मैदानको समस्याका कारण राम्रोसंग अभ्यास गर्न नपाएको बताए । साग फुटबल र एएफसी यू–१९ छनोटले खेलाडीको संयोजन गर्न समस्या भएको बताउँदै उनले लिगमा उच्च प्रर्दशन गर्ने बताए ।
एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले साउनको दोस्रो हप्ताबाट आफुले तयारी अघि बढाएको बताए । उनले टिममा पुरानै खेलाडीको बाहुल्यता रहेको उल्लेख गर्दै मोफसलको प्रतियोगिताले खेलाडीको मनोबल उच्च बनाएको बताए । उनले अनुभवी खेलाडी नभएपनि लिगमा दबाब बिनै खेल्ने बताए ।
हिमालयन शेर्पाका व्यवस्थापक अशोक श्रेष्ठले मैदानका अभावका कारण पोखरामा तयारी गरिरहेको बताए । पुरानै खेलाडीलाई समावेश गर्दै टिम तयार बनाएको जानकारी दिदै उनले विदेशी खेलाडी अनुबन्धनको प्रयास जारी राखेको बताए ।
ब्रिगेड ब्वाइजका व्यवस्थापक अर्बिन गुरुङले यू–१९ टिमकै खेलाडीलाई शीर्ष डिभिजनको लिगमा मौका दिने बताए । उनले शीर्ष ६ भित्र पर्ने उद्धेश्यका साथ लिगको तयारी गरिरहेको बताउँदै अनिल गुरुङ सहितका तीन सिनियर खेलाडीले ब्रिगेडबाट खेल्ने जानकारी दिए ।
मनाङका प्रशिक्षक तोपे फुजाले दुई हप्ता अघिमात्र आफु क्लबमा आएको जानकारी दिदै उपाधि रक्षामा आफुले कोशिश गर्ने बताए । ठुला खेलाडीले क्लब छाडेपनि खासै फरक नपर्ने बताउँदै उनले टिम राम्रो बनेको प्रतिक्रिया दिए ।
ब्यवस्थापनमा कमजोरी
लिगको अघिल्लो दिन सबै क्लबका प्रशिक्षक र कप्तान सहितको पत्रकार सम्मेलन एन्फाले आयोजना गरेको थियो । तर पत्रकार सम्मेलनमा अधिकांश क्लबका प्रशिक्षक तथा कप्तान अनुपस्थित रहे ।
लिगको तयारी, लक्ष्य र टिमबारे पत्रकारलाई जानकारी गराउन पत्रकार सम्मेलन राखिएको थियो । तर लिगको आयोजक एन्फाले सबै क्लबका प्रशिक्षक र कप्तानलाई कार्यक्रममा उपस्थित गराउन सकेन ।
सोही कारण केही क्लबका प्रशिक्षक, कप्तान र व्यवस्थापकले आफ्नो भनाई राखेसंगै पत्रकार सम्मेलन सकिएको थियो ।