काठमाडौं । 'ए' डिभिजन क्लब मछिन्द्र फुटबल क्लबलाई सान मिगेलले मुख्य प्रायोजन गरेको छ ।
शनिबार सुरु हुने 'ए' डिभिजन लिगको तयारीमा रहेको मछिन्द्रले शुक्रबार सान मिगेलसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ ।
मछिन्द्रलाई सान मिगेलले एक वर्षको लागि प्रायोजन गरेको हो । सम्झौता रकम भने खुलाईएको छैन ।
तर, क्लबले एक वर्षको बजेट २ करोड रहेको जनाएको छ । जसमा लिग खेल्ने खेलाडीलाई मात्र झन्डै करोड खर्च गरिएको क्लबले जनाएको छ ।
सम्झौतासँगै क्लबको नाम सान मिगेल मछिन्द्र क्लब रहनेछ ।
यस्तै मछिन्द्रले सान मिगेलसंगै पेपे पिजा, नेपा टप लगायतका क्लबसँग समेत प्रायोजन सम्झौता गरेको छ ।
मछिन्द्रले यस सिजन घरेलु फुटबलका अधिकांश ठुला नामहरुलाई क्लबमा अनुबन्धन गरेको छ ।
मछिन्द्रले नयाँ सिजनका लागि मनाङबाट ७ खेलाडी (एएफसी कप खेलेका) र थ्री स्टारबाट ४ खेलाडीलाई अनुबन्धन गरेको छ ।
मछिन्द्रले झण्डै एक दशक मनाङमा बिताएका विशाल श्रेष्ठ सहित विशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र कप्तान समेत रहेका विराज महर्जनलाई अनुबन्धन गरेको छ ।
यस्तै गत सिजन मनाङबाट एएफसी कप खेलेका देबेन्द्र तामाङ र अभिषेक रिजाललाई समेत मछिन्द्रले क्लबमा अनुबन्धन गरेको छ ।
युवा स्टार रेजिन सुब्बा र मनाङका पुर्व स्टार दिपक राई समेत मछिन्द्रको जर्सीमा नयाँ सिजनको लिग खेल्नेछन् ।
यस्तै थ्री स्टारका रेजिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनलाई मछिन्द्रले नयाँ सिजन अनुबन्धन गर्न सफल भएको छ ।
यस्तै थ्री स्टारका पुर्व खेलाडी योगेश गुरुङलाई मछिन्द्रले लिएको छ । उनले पछिल्लो सिजन च्यासल युथ क्लबबाट खेलेका थिए ।