एजेन्सी । स्कटिस क्लब रेन्जर्स युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।
बिहिबार राति भएको समूह चरणको अन्तिम खेलमा योङ ब्वाईजसँग १-१ गोलको बराबरी खेल्दै रेन्जर्स अन्तिम ३२ मा पुगेको हो ।
घरेलु मैदानमा बराबरी खेलेसंगै स्टेफेन जेरार्डको टिम रेन्जर्स समूह 'जी' को उपविजेता बन्यो । रेन्जर्सले ६ खेलमा ९ अंक जोड्यो । यस समूहबाट पोर्टो समूह विजेता बन्यो ।
खेलको अन्तिम समय १० खेलाडीमा समेटिएको रेन्जर्सले खेलको ३० औं मिनेटमा अल्फ्रेडो मोरेलोसको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ८९ औं मिनेटमा रेन्जर्सका बोर्ना बरीसिचले आत्मघाती गोल गर्दा योङ खेलमा फर्किएको थियो ।
यस्तै खेलको इन्जुरी समयमा ज्याक रायनले रातो कार्ड पाउँदा अन्तिम केहि मिनेट घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।