एजेन्सी । युरोपा लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले प्रभावशाली जित निकालेको छ ।
बिहिबार राति भएको खेलमा युनाईटेडले डच क्लब एजेड अल्कमारलाई ४–० गोल अन्तरले हराएको हो ।
अन्तिम खेलमा जित निकाल्दै युनाईटेड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
शीर्ष स्थानको म्यान युनाईटेडले १३ अंक जोड्यो । अल्कमार समेत ९ अंक सहित दोस्रो स्थानमा रह्यो ।
युनाईटेडको जितमा मासन ग्रिनउडले दुई गोल गरे ।
म्यान युनाईटेडका चारै गोल दोस्रो हाफमा सम्भव भएको हो ।

खेलमा अग्रता युनाईटेडले ५३ औ मिनेटमा एस्ले योङको गोलबाट लिएको थियो । जुवान माटाको क्रसलाई सदुपयोग गर्दै उनले फेब्रुअरीपछि क्लबका लागि पहिलो गोल गरेका हुन् ।
ग्रिनउडले ५८ औं मिनेटमा क्लबको अग्रता दोब्बर बनाएका थिए ।
माटाले ६२ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ३–० ले अघि बढाए । स्पेनिस मिडफिल्डरको सिजनको यो पहिलो गोल हो ।
त्यसको दुई मिनेटपछि ग्रिनउडले व्यक्तिगत दोस्रो गोल गर्दै युनाईटेडलाई फराकिलो जित दिलाए ।
जितसंगै युनाईटेड समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो । अब सोमबार प्रतियोगिताको अन्तिम ३२ को ड्र सार्वजनीक हुनेछ ।