काठमाडौं । सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगिता आइतबार सुरु हुने भएको छ ।
नेपाली सेनाको आयोजनामा हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा हुने प्रतियोगिताका सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक त्रिभुवन आर्मी क्लब, प्रदेश १, एपीएफ र सिक्किम रहेका छन् । समूह ‘बी’ मा प्रदेश २, नेपाल पुलिस क्लब, प्रदेश ५ र भुटान छन् ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको समूहको शीर्ष टिम सेमिफाइनमा पुग्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा आर्मी क्लब र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले तीन लाख पाउने छन् । यसैगरी उपविजेताले १ लाख ५० हजार र सेमिफाइनलमा पराजित हुने दुई टिमले ५०/५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार पाउनेछ । यसैगरी उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १०/१० हजार पाउने छन् ।
प्रतियोगिता नेपाली सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुई मैदानमा खेलाइनेछ ।