काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको खेलाडी अनुबन्धनमा मछिन्द्र क्लबले बाजी मारेको छ ।
घरेलु फुटबलका दुई ठुला क्लब मनाङ मस्याङ्दी क्लब र थ्री स्टारबाट खेल्दै आएका खेलाडीलाई अनुबन्धन गर्दै मछिन्द्रले नयाँ सिजन उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेको हो ।
‘केही समय निष्किृय बसे । तर गत सिजन क्लबको पोजिसन गतिलो रहेन ।’ खेलाडी अनुबन्धनमा मछिन्द्रको नेतृत्व गरिरहेका अनिल श्रेष्ठले खेलपाटीसंग भने, ‘ठुला क्लबलाई टक्कर दिन ठुलै क्लबका खेलाडीलाई अनुबन्धन गरेका छौ ।’
लिगको तयारीमा ए डिभिजन क्लब ब्यस्त रहदाँ मछिन्द्रले घरेलु फुटबलका अधिकांश ठुला नामहरुलाई क्लबमा अनुबन्धन गर्न सफल भएको हो ।
मछिन्द्रले नयाँ सिजनका लागि मनाङबाट ७ खेलाडी (एएफसी कप खेलेका) र थ्री स्टारबाट ४ खेलाडीलाई अनुबन्धन गरेको छ ।
मछिन्द्रले झण्डै एक दशक मनाङमा बिताएका विशाल श्रेष्ठ सहित विशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ र कप्तान समेत रहेका विराज महर्जनलाई अनुबन्धन गरेको छ ।
यस्तै गत सिजन मनाङबाट एएफसी कप खेलेका देबेन्द्र तामाङ र अभिषेक रिजाललाई समेत मछिन्द्रले क्लबमा अनुबन्धन गरेको छ ।
युवा स्टार रेजिन सुब्बा र मनाङका पुर्व स्टार दिपक राई समेत मछिन्द्रको जर्सीमा नयाँ सिजनको लिग खेल्नेछन् ।
यस्तै थ्री स्टारका रेजिन धिमाल, विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनलाई मछिन्द्रले नयाँ सिजन अनुबन्धन गर्न सफल भएको छ ।
यस्तै थ्री स्टारका पुर्व खेलाडी योगेश गुरुङलाई मछिन्द्रले लिएको छ । उनले पछिल्लो सिजन च्यासल युथ क्लबबाट खेलेका थिए ।
‘झण्डै सात जना खेलाडीले राष्ट्रिय टिमबाट खेलिरहेका छन् ।’ क्लबका पुर्व उपाध्यक्ष समेत रहेका श्रेष्ठले खेलपाटीसंग भने, ‘हरेकको क्लब चलाउने स्टाईल हुन्छ । लगानी उठाउने योजना सहित टिमको संयोजन गरेका छौ ।’