काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको विजेताले ५० लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै शनिबार सुरु हुने 'ए' डिभिजन लिगको विजेताले ५० लाख पाउने जनाएको छ ।
एन्फाले यस सिजन पुरस्कार राशिमा वृद्धि गरेको छैन । गत सिजन पनि विजेताले ५० लाख पाएको थियो ।
यस्तै उपविजेताले ३५ लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने छन् । चौंथोले १५, पाँचौले ७ र छैटौंले ५ लाख पाउने छन् ।
एन्फाले हरेक खेल जित्ने टिमलाई बोनस वापत थप ५० हजार दिनेछ भने बराबरी भए १५/१५ हजार दिनेछ ।
क्लबलाई तयारी खर्चको लागि एन्फाले २०/२० लाख समेत उपलब्ध गराउने छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई १ लाख ५० हजार प्रदान गरिनेछ ।
हेरक खेलको म्यान अफ दि म्याचलाई १० हजार र फेयर प्ले टिमले १ लाख पाउने छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा 'ए' डिभिजन लिगको सुरुवात हुनेछ ।
फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।
यस सिजनको लिगमा एक मात्र टिम घटुवा हुनेछ । एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।