काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको मुख्य प्रायोजक कतार एयरवेज हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार कतार एयरवेजसँग मुख्य प्रायोजक सम्झौतामा हस्ताक्षर गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
एन्फाले एक वर्षको लागि कतार एयरवेजसँग १ लाख ५० हजार अमेरिकी डलरको सम्झौता गरेको हो । सम्झौतासँगै हरेक क्लबको जर्सीमा कतार एयरवेजको लोगो राखिने छ । यस्तै कतार एयरवेजको बोर्डहरु राखिनेछ ।
एन्फाले पहिलो पटक लिगका लागि विदेशी कम्पनिसँग सहकार्य गरेको हो ।
सम्झौतापछि बोल्दै अध्यक्ष शेर्पाले कतार एयरवेजले नेपाली लिगलाई उचाईमा पुर्याउने काम गरेको बताए ।
'आज खुसी छौँ । लिग नहुने स्थिती थियो । हामी तड्पिएको थियौं,' अध्यक्ष शेर्पाले भने, 'यो सुरुवात हो । कतार एयरवेजले नेपाली लिगलाई उचाईमा पुर्याउने काम गरेको छ ।'
'ए' डिभिजन लिग फुटबल शनिबारबाट सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा 'ए' डिभिजन लिगको सुरुवात हुनेछ ।
फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।