एजेन्सी । ग्याब्रियल जिससको ह्याट्रिकको सहयोगमा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा डायनामो जाग्रेबलाई हराएको छ ।
बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले डायनामो जाग्रेबलाई ४–१ गोल अन्तरले हराएको हो ।
सिटीको जितमा जिससले ह्याट्रिक गरे । मुख्य फरवार्ड सर्जियो अग्युरो चोटका कारण बाहिर रहेपछि सिटीको आक्रमण सम्हाल्ने जिम्मेवारी जिससले पाएका थिए । उनले पछिल्ला पाँच खेलमा पाँच गोल गरेका थिए ।
खेलको ३४ औ मिनेटमा पहिलो गोल गरेका उनले ५० औ मिनेटमा दोस्रो र ५४ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । फोडिनले ८४ औ मिनेटमा सिटीका लागि चौथो गोल गरेका थिए ।
खेलमा अग्रता भने जाग्रेबले खेलको १० औ मिनेटमा ओल्मोको गोलबाट लिएको थियो ।

समूह सीको खेलमा सिटीले १४ अंक जोड्दै समूह विजेताको रुपका नकआउट चरण प्रवेश गर्यो । जाग्रेब ५ अंक सहित पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।