एजेन्सी । दुई ब्राजिलियन चम्किँएको खेलमा रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा सहज जित आत्मसाथ गरेको छ ।
रियलले बुधबार राति भएको खेलमा क्लब ब्रुगिसलाई ३–१ गोल अन्तरले हराएको छ ।
यस अघिनै नकआउट चरणमा प्रवेश गरिसकेको रियल मड्रिडका लागि समूह चरणको अन्तिम खेलको नतिजा खासै अर्थपुर्ण थिएन ।
समूह एको विजेताको रुपमा पीएसजी र उपविजेताको रुपमा रियल अन्तिम १६ मा प्रवेश गरिसकेका छन् ।
१८ बर्षिया रोड्रिगोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो ओड्रियोजोलाको क्रसलाई सदुपयोग गर्दै उनले ५३ औं मिनेटमा भालीमार्फत गोल गर्न सफल रहे ।
त्यसको दुई मिनेटपछि घरेलु टोलीका हान भनाकेनले खेल बराबरीमा ल्याएका थिए । भिनिसियस जुनियरले ६४ औं मिनेटमा गोल गर्दै रियललाई अगाडी बढाउने काम गरे ।
खेलको ईन्जुरी समयमा लुका मोड्रिचले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।
रियल पछिल्ला १० खेलमा अपराजित छ । क्लबले ग्यारेथ बेललाई बैकल्पिक खेलाडीको रुपमा प्रयोग गरेन । क्लब ब्रुगिस तेस्रो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गर्यो ।
समूह एको खेलमा उसले ३ अंक बटुल्यो । दोस्रो स्थानको रियलको ११ अंक रह्यो ।