काठमाडौं । 'ए' डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले स्ट्राइकर विमल घर्ती मगरलाई अनुबन्ध गर्ने तयारी गरेको छ ।
शनिबारबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगका लागि एनआरटीले विमललाई अनुबन्ध गर्ने तयारी गरेको हो ।
विमल एनआरटीको टिमसँग प्रशिक्षण समेत गरिरहेका छन् । तर, एन्फाको कारबाहीमा परेका कारण विमललाई एनआरटीले औपचारिक रुपमा अनुबन्ध गर्न सकेको छैन ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो रात ठमेलको लाउन्ज बारमा गएपछि एन्फाले विमलसहित ४ खेलाडीलाई कारबाही गरेको थियो । उनीहरुले घरेलु मैदानमा भएको साग समेत गुमाएका थिए । एन्फाको कारबाहीपछि उनीहरुको 'ए' डिभिजन समेत अन्योलमा रहेको छ ।
एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले विमल अनुबन्धका लागि एन्फाको निर्णय कुरेको बताए ।
'विमल अभ्यासमा आएको छ । तर, अनुबन्ध भएको छैन । एन्फाले निर्णय नगर्दा प्रक्रिया रोकिएको छ । निर्णय पर्खिएर बसेका छौँ,' प्रशिक्षक शाक्यले भने ।
विमलले गत सिजनको लिग च्यासल युथ क्लबबाट खेलेका थिए । गत सिजन प्रशिक्षक राजुकाजी शाक्य च्यासलका मुख्य प्रशिक्षक रहेका थिए ।
यस सिजनको 'ए' डिभिजन लिग शनिबारबाट हुनेछ । दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले उद्घाटन खेल खेल्नेछ ।