काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टिमले बहराईनसँग मैत्रीपूर्ण खेल खेल्ने भएका छन् ।
एएफसी यू–१९ च्याम्पियनसिपको छनोट खेलेको नेपालले बहराईनको यू–१९ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
बहराईनमा हुने मैत्रीपूर्ण खेल कम्तिमा दुई वटा हुनेछ ।
नेपाली टिमका मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठले नेपाली टिमले बहराईनको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको बताए ।
‘यसै महिना उमेर समूहको महिला टिमले बहराईनसँग मैत्रीपूर्ण खेल खेल्नेछौं ।’ श्रेष्ठले भने ।
प्रशिक्षक श्रेष्ठले कम्तिमा २ खेल खेल्ने पक्का भएको जानकारी दिदै अन्य बिषयमा छलफल चलिरहेको बताए ।
‘अहिले दुई खेल पक्का गरिसकेको छौं । अब तेस्रो खेलको लागि कुरा भईरहेको छ ।’ यसअघि छनोटमा समेत नेपाली टिम हेरेका श्रेष्ठले भने ।
नेपाली टिम बहराईनतर्फ शुक्रबार प्रस्थान गर्नेछ ।
शनिबार पहिलो खेल हुनेछ । त्यसको दुई दिनमा अर्को खेल हुने तालिका छ । यसअघि नेपालले एएफसी यू–१९ च्याम्पियनसिपको दोस्रो चरण खेलेको थियो ।
आर्मीले खेलाडी नछाड्ने
बहराईनसँग मैत्रीपूर्ण फुटबल खेल्न जाने सूचीबाट त्रिभुवन आर्मी क्लबले आफ्ना खेलाडीको नाम काटेको छ । आर्मीले नजिकिदै गरेको प्रधानसेनापति कप महिला फुटबलको तयारीमा रहेका आफ्ना खेलाडीलाई बहराइन जानबाट रोकेको हो ।
हाल यू–१९ टिममा आर्मीबाट ४ खेलाडी रहेका छन् । गोलरक्षक अन्जना राना मगर डिफेन्डर पुजा राना तथा बिमल विश्वकर्मा र स्ट्राइकर रश्मी कुमारी घिसिङ बहराईन जाने छैनन् ।
पुजा र अन्जना राष्ट्रिय टिमसँग पोखरामा छन् । विमला र रश्मी भने टिमको तयारीमा छैनन् ।
रश्मी पहिलो पटक आर्मीबाट खेल्दै छिन् । यसअघि उनी रुपन्देही ११ बाट खेल्दै आएकी हुन् ।
मुख्य प्रशिक्षक श्रेष्ठका अनुशार आर्मीले प्रधानसेनापति कप महिला प्रतियोगितालाई प्राथमिकतामा राख्दै आफ्ना खेलाडी बहराईन पठाउन नसकिने बताएको जानकारी दिएका छन् ।