एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा स्लाभियालाई २-१ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो ।
अन्तिम १५ मिनेट १० खेलाडीमा समेटिएको डर्टमण्डका लागि जाडोन सान्चो र जुलियन ब्रान्टले एक एक गोल गरे । स्लाभियाका थोमस सौसेकले एक गोल फर्काए ।
खेलको दशौँ मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई १-० को अग्रता दिलाए । ४३ औं मिनेटमा थोमसले गोल गर्दै स्लाभियालाई खेलमा फर्काए । तर, खेलको ६१ औं मिनेटमा जुलियनले गोल गर्दै डर्टमण्डलाई २-१ को जित दिलाए ।
खेलको ७७ औं मिनेटमा जुलियन विगलले रातो कार्ड प्राप्त गर्दा डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै समूह एफको डर्टमण्डले ६ खेलमा १० अंक जोड्यो । र, समूहको उपविजेता बन्यो । यस समूहबाट बार्सिलोना विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।