एजेन्सी । सिरि ए क्लब नापोलीले मुख्य प्रशिक्षक कार्लोस एन्सेलोटीलाई बर्खास्त गरेको छ ।
नापोलीलाई च्याम्पियन्स लिगको नकआउट चरण पुर्याएको तीन घण्टा नबित्दै एन्सेलोटीलाई बर्खास्त गरिएको हो ।
सिरि ए क्लब नापोलीले पछिल्ला ९ खेलमा जित निकाल्न सकेको छैन । तर मंगलबार राति भएको खेलमा उसले जेन्कलाई ४–० ले हरायो ।
एन्सेलोटीले दोस्रो सिजन नापोलीमा बिताईरहेका थिए । लिगमा निकै खराब प्रर्दशनका कारण उनलाई बर्खास्त गरिएको हो ।
साविक विजेता लिभरपुललाई च्याम्पियन्स लिगमा २–० ले हराउनु बाहेक नापोलीले खासै उल्लेख्य प्रर्दशन गर्न सकेको छैन ।
पछिल्लो महिना प्रशिक्षक र खेलाडी तथा क्लबका अध्यक्षबीच विवाद चर्किएको थियो ।
क्लब अध्यक्ष औरिलियो डी लाउरेन्टसले एक सप्ताहको प्रशिक्षण सिविरमा सहभागी हुन अनुरोध गरेका थिए । तर एन्सेलोटीले सबै खेलाडीलाई घर फर्काईदिएका थिए ।
एन्सेलोटीले सन् २००८–१० को सिजनमा प्रिमियर लिगको उपाधि र एफ ए कपको उपाधि जितेका थिए । उनी पछिल्लो समय प्रिमियर लिग क्लब आर्सनल र एभर्टनसंग जोडिएका छन् । दुवै क्लब अहिले मुख्य प्रशिक्षक विहिन छन् ।
तीन पटक च्याम्पियन्स लिग जित्ने उनी तेस्रो प्रशिक्षक हुन् । उनले रियल मड्रिड र एसी मिलानमा रहँदा सो सफलता हात पारेका थिए ।
उनले मिलानसंगै चेल्सी, पीएसजी र बार्यन म्युनिखलाई घरेलु लिगको उपाधि दिलाएका थिए ।