काठमाडौं । 'ए' डिभिजन क्लब थ्री स्टारले नयाँ सिजनको लिगका लागि तीन अफ्रिकन खेलाडीलाई अनुबन्धन गरेको छ ।
गत सिजन लिग खेलेका विदेशी खेलाडीलाई बिदाई गर्दै थ्री स्टारले नयाँ सिजन तीन अफ्रिकन खेलाडीलाई क्लबमा अनुबन्धन गरेको हो ।
क्लबले गोलकिपरमा प्रिसो, फरवार्डमा हम्जात र मिडफिल्डमा अलिउलाई अनुबन्धन गरेको हो ।
प्रिसो क्यामरुनका हुन् । उनले गत सिजन दाउफिन्स क्लबबाट मोफसलका प्रतियोगिता खेलेका थिए । पहिलो रोजाईका गोलकिपर एलन न्यौपाने नयाँ सिजनका लागि च्यासल लागेपछि थ्री स्टारले प्रिसोलाई क्लबमा ल्याएको हो ।
उनकै प्रर्दशनमा दाउफिन्सले गत सिजन मोफसलको प्रतियोगिता जित्न सफल भएको थियो ।
यस्तै हम्जात र अलिउ नेपाली फुटबलका लागि नयाँ अनुहार हुन् । दुवै नाईजेरियाका खेलाडी हुन् ।
थ्री स्टार यसअघि अफ्रिकन खेलाडी पिटर सेगुनलाई मुख्य डिफेन्डरको रुपमा राखेको थियो । तर लिगको दौरान उनी होटलबाट भागेर मोफसलको प्रतियोगिता खेल्न बुटवल पुगेको घटना सार्वजनिक भएको थियो ।
लिग लगत्तै थ्री स्टारले पिटर सहितका विदेशी खेलाडीलाई कारबाहीको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फालाई सिफारिस गरेको थियो । नयाँ सिजन दुवै खेलाडीलाई बाहिर राख्दै थ्री स्टारले नाईजेरिका दुई खेलाडीलाई मिडफिल्डर र फरवार्डको रुपमा क्लबमा ल्याएको छ ।
लिग उपाधिको लक्ष्य सहित थ्री स्टारले गत सिजन राष्ट्रिय फुटबल टिमका ठुला अनुहारलाई क्लबमा राखेको थियो । तर क्लबले गत सिजनको लिगमा गतिलो नतिजा निकाल्न सकेन ।
सोही कारण लिग सकिने बित्तिकै उसले निराजन खड्का सहितका केही ठुला अनुहारलाई क्लबबाट बिदा गरेको थियो ।
नयाँ सिजन थ्री स्टारमा राष्ट्रिय फुटबल टिमका केही अनुहार हुने छैनन् ।
सुनिल वल, एलेन न्यौपाने र दिनेश राजवंशीले थ्री स्टार छाड्दै अर्को ललितपुरे क्लब च्यासल रोजेका छन् । तीनै खेलाडीलाई च्यासलले नयाँ सिजनका लागि अनुबन्धन गरिसकेको छ ।
त्यस्तै डिफेन्डर रजिन धिमाल नयाँ सिजनका लागि भन्दै मछिन्द्र लागेका छन् । लिग जित्ने लक्ष्य सहित मछिन्द्रले रजिन सहित राष्ट्रिय फुटबल टिमका अधिकांश अनुहार क्लबमा अनुबन्धन गरेको छ ।
रजिनले थ्री स्टारबाट गत सिजन राम्रो प्रर्दशन गरेका थिए । उनी गत सिजन थ्री स्टारका सर्वाधिक गोलकर्ता बनेका थिए ।
मोटो रकम खर्चिएका स्टार खेलाडीबाट नतिजा नआउँदा थ्री स्टारले नयाँ सिजन नयाँ खेलाडीलाई मौका दिदै सन्तुलित टिम बनाउने तयारी गरेको छ ।