काठमाडौं। नेपाली राष्ट्रिय यू-२३ फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अपराजित रहँदै १३ औं सागमा गोल्ड मेडल जित्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतबार भएको खेलमा बंगलादेशलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल पुगेपछि प्रशिक्षक महर्जनले भुटानलाई हराएर अपराजित रहेर स्वर्ण जित्ने बताएका हुन् ।
'हामी प्रतियोगितामा अपराजित छौं । अब फाइनलमा पनि भुटानलाई पराजित गर्दै स्वर्ण पदक जित्छौं,' प्रशिक्षक महर्जनले भने ।
बलियो टिम बंगलादेशविरुद्ध खेलको ११ औं मिनेटमा नेपालका सुनिल बलले निर्णायक गोल गरेका थिए । सुनिलको निर्णायक गोलसँगै नेपाल सागमा लगातार तेस्रो पटक फाइनल प्रवेश गर्यो । समग्रमा नेपाल छैटौं पटक फाइनलमा पुगेको हो ।
अब नेपालले स्वर्ण पदकको लागि मंंगलबार भुटानको सामना गर्नेछ ।
यस्तै प्रशिक्षक महर्जनले बंगलादेशविरुद्ध खेलाडीले सोचे जस्तो खेल्न भने नसकेको बताए ।
'हामीले ६–७ दिनमा ४ खेल खेलका छौं । खेलाडीले लगातार खेलिरहँदा आज सहज खेल्न सकेनन् । हामीले ६०–७० मिनेटको बिचमा खेल्नै सकेनौ,' प्रशिक्षक महर्जनले भने ।
तर, प्रशिक्षक महर्जनले आफ्नो खेलाडीले निर्देशन अनुशार नै खेल्दा बंगलादेशविरुद्ध जित हात पारेको बतााए ।
‘हामीले जित्ने लक्ष्यसाथ आएका थियौं,' उनले थपे, 'खेलाडीले निर्देशन अनुशार खेले । सुरुमै गोल गर्दा सहज भयो ।'