काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम भुटान प्रस्थान गरेका छन् ।
२३ सदस्सीय खेलाडीसहितको नेपाली टिम शनिबार दिउँसो भुटानको थिम्पु प्रस्थान गरेका छन् । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार नै विदाई गरेको छ । एन्फाका कार्यबाहक अध्यक्ष पंकज नेम्बाङ लगायतले विदाई गरे ।
नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ ।
कुवेतसँगको खेलका लागि भुटान जाने टिममा चार खेलाडी परिवर्तन भएका छन् । विमल घर्ति मगर, अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जाने छैनन् । एन्फाले चारै खेलाडीलाई अनुशासनको कारबाही गरेको छ ।
नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुन:निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।