काठमाडौं । नेपाली राष्ट्रिय टिमका मिडफिल्डर सुनिल बल, डिफेन्डर दिनेश राजवंशी र गोलकिपर एलेन न्यौपाने भ्याली च्यासल युथ क्लबमा अनुबन्धित भएका छन् ।
च्यासलले आगामी मंसिर अन्तिम साताबाट सुरु हुने 'ए' डिभिजन लिगका लागि राष्ट्रिय टिमका सुनिल र दिनेशसहित एलेनलाई अनुबन्ध गरेको हो ।
च्यासलका महासचिब प्रदिप ब्यञ्जनकारले थ्री स्टारबाट तीन खेलाडी च्यासलले अनुबन्ध गरेको खेलपाटीलाई जानकारी गराए ।
‘हामीले यस सिजनको लागि तीन खेलाडी थ्री स्टारबाट लिएका छौं,’ उनले भने ।
महासचिब ब्यञ्जनकारले सबै खेलाडीसँग एक वर्षको लागि सम्झौता भएको बताए ।
गत सिजन तीनै जनाले थ्री स्टारबाट 'ए' डिभिजन लिग खेलेका थिए । तर, यस सिजन थ्री स्टारले तीनै जनालाई रिलिज गरेपछि च्यासलले अनुबन्ध गरेको हो ।
यस्तै ब्यञ्जनकारले च्यासलले यस सिजन जापानका एक खेलाडी समेत अनुबन्ध गरेको जानकारी गराए ।
गत सिजनको लिगमा आठौं स्थान ओगटेको च्यासलले तीन खेलाडी अनुबन्ध गर्दा अन्य तीन खेलाडीको सम्झौता नवीकरण गरेको छ । च्यासलले यू-२३ का नितिन थापा, हेमन्त थापा मगर र छिरिङ गुरुङसँग सम्झौता नवीकरण गरेको छ ।
रेलिगेसन हुने लिग मंसिर २८ बाट सुरु हुनेछ ।