काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेल खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्सीय नेपाली टिमको घोषणा गरेको हो ।
विश्वकप छनोटको टिममा फरवार्ड भरत खवास र मिडफिल्डर मिक्छेन तामाङ पहिलोपटक परेका छन् ।
नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ ।
नेपालले कुवेतसँगको खेल अघि गत साता म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुन:निर्माण भईरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो । जस अन्तर्गत खेल भुटानमा हुन लागेको हो ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ ।
यस अघि कुवेतसँग अवे खेलमा नेपाल ७–० को भारी गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्याे ।
यस्तै तेस्रो खेलमा एसियाली पावर हाउस अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाली टिम :
गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ
फरवार्ड : भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ