बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लबले हाम्रो पूर्वाञ्चल गोल्डकपको उपाधि जितेको छ ।
झापाको बिर्तामोडमा सोमबार भएको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।
डोमालाल राजवंशी रंगशालामा आर्मीलाई जित दिलाउन कप्तान टेक बहादुर बुढाथोकीले दुवै गोल गरे ।
उपाधिसँगै आर्मीले १२ लाख ५० हजार नगद प्राप्त गरेको छ । उपविजेता चर्चले ६ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।
यस अघि आर्मीले सेमिफाइनलमा भारतको सिक्किम आक्रमण एफसीलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
चर्चले भने सेमिफाइनलमा नेपाल पुलिस क्लबको चुनौती १-० ले पन्छाएको थियो ।
जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
