एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा ब्राइटनलाई ३-१ गोल अन्तरले पराजित गर्दै युनाइटेडले सहज जित हात पारेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रेस पेरेइरा र मार्कुस राष्फोर्डले एक एक गोल गरे ।
ब्राइटनका डेभी प्रोपरले एक आत्मघाती गोल गरे । यस्तै ब्राइटनका लेविस डुन्कले एक गोल फर्काए ।

ओल्डट्राफोर्डमा खेलको १७ औं मिनेटमा आन्द्रेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । १९ औं मिनेटमा डेभीले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २-० ले अघि रह्यो ।
६४ औं मिनेटमा ब्राइटनका लेविसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर, खेलको ६६ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३-१ को जित दिलाए ।
जितसँगै युनाइटेड लिगको सातौं स्थानमा उक्लिएको छ । यूनाइटेडले १२ खेलबाट १६ अंक जोडेको छ । पराजित ब्राइटन १५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

लिग अन्तर्गत नै अर्को खेलमा वुल्भ्सले एस्टन भिल्लालाई २-१ ले हराएको छ । जितसँगै आठौं स्थानमा रहेको वुल्भ्सले १६ अंक जोडको छ । एस्टन भिल्ला ११ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।