बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडले झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा सोमबार सिजनकै पहिलो उपाधि रक्षा गर्ने दाबी गरेका छन् ।
हाम्रो पूर्वाञ्चल गोल्डकपको फाइनलमा पुगेका दुवै टोलीले सिजनको पहिलो उपाधि आफ्नो टिमले जित्ने दाबी प्रस्तुत गरेका छन् ।
फाईनल अघि आईतबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै दुवै टिमले उपाधि रक्षा गर्न आफुहरु सक्षम रहेको दाबी गरेका थिए ।
आर्मीका प्रशिक्षक नविन न्यौपानले राम्रो टिमलाई पराजित गरेर फाईनल पुगेको उल्लेख गर्दै खेलाडीको मनोबल उच्च रहेको बताए । नयाँ खेलाडीमा अनुभवको कमी रहेको बताउँदै उनले गल्ती सच्याएर उपाधि रक्षा गर्ने दाबी गरे ।
फरवार्डको कमी देखिएको स्विकार गर्दै उनले भने, ‘गल्ती सुधार गरेर निर्धारित समयमा नतिजा आफ्नो पक्षमा पार्ने दाउ छ ।’ नियमित खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा बताउँदै उनले चर्च ब्वाइजको कमजोरीको फाइदा उठाएर जित निकाल्ने बताए ।
आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले चर्च ब्वाइजको योजनालाई रोक्दै सिजनको पहिलो उपाधि रक्षा गर्ने योजना सहित मैदान उत्रने सुनाए ।
यता, चर्च ब्वाइजका प्रशिक्षक रुवेन राईले नेपालकै राम्रो टिम आर्मीसँग फाइनल खेल्न पाउनु आफुहरुले अवसरका रुपमा लिएको बताए ।
‘यो संयोगमात्र होइन, दुर्लभ भेट पनि हो ।’ उनले भने ।
आर्मीका नियमित तथा सिनियर खेलाडीको अभावलाई चर्च ब्वाइजले अवसरको रुपमा नलिने उनको कथन थियो ।
राष्ट्रिय लिगको सी डिभिजनमा भर्खरै उक्लिएको चर्च ब्वाइजले फाइनल जित्नका लागि शतप्रतिशत मेहनत गर्ने दाबी गरेको छ ।
जायोन स्पोर्टस् क्लब बिर्तामोडले आयोजना गरेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५० हजार र उपविजेता टोलीले ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।