काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको घरेलु खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको तयारी सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा आइतबारबाट नेपालले तयारी सुरु गरेको हो । म्यानमारसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर स्वदेश फर्किएको दोस्रो दिनबाटै नेपालले तयारी सुरु गरेको हो ।
कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग बिहिबार मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाल ३–० गोल अन्तरले पराजित भएको थियो ।

नेपालले कुवेतसँग मंसिर ३ गते खेल्ने तालिका रहेको छ । सम्भवत उक्त खेल भुटानको थिम्पुमा हुनेछ ।
नेपालको दशरथ रंगशालामा खेल हुने भनिएपनि रंगशालाको मर्मत नसकिदा फिफा र एएफसीले नेपाललाई खेल न्युट्रल भेन्युमा गर्न निर्देशन दिएको छ ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अब घरेलु मैदानमा खेल्न बाँकि रहेको छ । छनोटमा ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।

मुख्य प्रशिक्षक जोहान कालिनले घरेलु खेलका लागि तीन नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । कालिनले भरत खवास, एलेन न्यौपाने र सुभाष गुरुङलाई बोलाएका हुन् ।
नेपाली टिमको प्रशिक्षणमा भने कप्तान किरण चेम्जोङ र रोहित चन्द छैनन् ।
रोहित इन्डोनेसियन लिगमा व्यस्त रहदा किरण भारतिय आईलिग टिम मिनेर्वा पन्जाबको प्रि-सिजन तयारीका व्यस्त छन् ।


