काठमाडौं । नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले टी-ट्वान्टी क्रिकेटमा नेपालको मिक्स टिमलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई १ सय १३ रनले पराजित गरेको छ ।
एमसीसीले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर १ बलमा अलआउट हुँदै मात्र ७६ रनमा समेटियो ।
नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन जोडे । यस्तै सन्दीप जोराले १६ रन जोड्दा कुशल भुर्तेलले १४ रन बनाए ।
यस्तै भिम सार्कीले १३ तथा कप्तान रोहित पौडेलले ६ रन बनाए । अमित श्रेष्ठ र सुशन भारी समान १/१ रनमा आउट भए ।
एमसीसीका एड योङले ३ विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनको नाममा २/२ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै एड योङले ४२ रन जोड्दा मिल्स हाम्मोन्डले ३३ रन जोडे ।
एलेक्स थमप्सन २० रनमा अविजित रहे ।

नेपालका राशिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले १/१ विकेट लिए ।
नेपाली क्रिकेट विकासको लागि तयार गरेको लिगेसी टुरका लागि नेपाल आएका एमसीसीले यसअघि नेपालसँग एक एकदिवसीय र तीन दिवसीय (फस्ट क्लास) क्रिकेट खेलिसकेको छ ।

तीन दिवसीयमा नेपाल २ सय ८ रनले पराजित भएको थियो । एकदिवसीयमा भने नेपालले एमसीसीलाई ५ विकेटले हराएको थियो ।
यस्तै नेपाली यू-१९ क्रिकेट टिमविरुद्धको टी-ट्वान्टीमा एमसीसीले ३८ रनको जित निकालेको थियो ।
अब एमसीसी पोखरा भ्रमणमा जाने छ । त्यहाँ एमसीसीले आमन्त्रण-११ र मुख्यमन्त्री-११ संग दुई टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।
