बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड

काठमाडौं। एर्लिङ हालान्ड आफ्ना पिता आल्फ–इङ्गे हालान्डको पदचिन्ह पछ्याउँदै १९९८ पछि पहिलो पटक विश्वकपमा उत्रिने तयारीमा छन्। ठ्याक्कै त्यही यात्रामा, जुन २८ वर्षअघि उनका बाबुले पूरा गरेका थिए।
२८ वर्षअघि फ्रान्स १९९८ मा आल्फ–इङ्गे हालान्डले नर्वेको जर्सी लगाएर विश्वकप खेलेका थिए। अब विश्व फुटबलका सबैभन्दा भयङ्कर स्ट्राइकरमध्ये एक मानिने उनका छोरा उही ठूलो मञ्चमा देखिने छन्।
इटालीविरुद्धको खेलमा दुई मिनेटभित्र दुई गोल गर्दै उनले नर्वेलाई २८ वर्षपछि पहिलो पटक विश्वकपमा फर्काएका हुन्। बिहीबार एस्टोनियालाई हराएपछि नर्वे एक खेलअगाबै विश्वकपमा पुगिसकेको थियो। समूहको शीर्ष स्थान खोस्न इटालीलाई ९ गोलको अन्तरमा जित निकाल्न आवश्यक थियो। तर, उक्त कुरा असम्भव रह्यो।
११औं मिनेटमा फेडेरिको डिमार्कोको पासमा पिओ एस्पोसिटोले गोल गर्दै यस्तो असम्भव जस्तै लाग्ने लक्ष्य पूरा गर्ने सानो आशा जगाए। त्यसपछि इटालीले खेलमा दबदब बनायो। तर, पहिलो हाफमा थप गोल निकाल्न सकेन।
दोस्रो हाफ पूर्ण रूपमा नर्वेको पक्षमा रह्यो, विशेषगरी हालान्डको। एन्टोनियो नुसाले जोरदार प्रहारमार्फत बराबरी गरे। त्यसपछि म्यानचेस्टर सिटीका सहकर्मी ओस्कर बोब्बको क्रसमा हालान्डले सानदार भली प्रहार गर्दै नर्वेलाई अग्रता दिलाए।
शान्त देखिएका हालान्डले त्यसपछि तुरुन्तै अर्को गोल गर्दै आठ खेलमा १६ गोलको अविश्वसनीय व्यक्तिगत कीर्तिमान कायम गरे। वोल्भरह्याम्प्टनका स्ट्राइकर जोर्गेन स्ट्रान्ड लार्सेनले इन्ज्युरी टाइममा गोल गर्दै नर्वेको सपनाजस्तै जितलाई पूर्णता दिए।
यससँगै हालान्ड अब आफ्ना पिता आल्फ–इङ्गे हालान्डको पदचिन्ह पछ्याउँदै १९९८ पछि पहिलो पटक विश्वकपमा उपस्थित हुनेछन्।
इटाली भने फेरि एकपटक प्लेअफको अनिश्चित यात्रामा धकेलिएको छ। पछिल्ला वर्षमा इटालीलाई प्लेअफले दुःखद अनुभूति मात्र दिएको छ। २०१८ विश्वकपका लागि स्विडेनसँग १–० को समग्र हारले इटाली बाहिरिएको थियो।
चार वर्षपछि उत्तरी म्यासेडोनियासँग घरेलु मैदानमै १–० को लज्जास्पद हारले २०२२ विश्वकपको ढोका पनि बन्द भएको थियो।










-1763309767672.webp&w=3840&q=75)

